बैंकबाट क्रेडिट कर्जा लिएर नतिर्ने बढ्दै, धमाधम तीनपुस्ते निकाल्दै बैंक

  २०८१ साउन १५ गते १८:०६     सीआर भण्डारी

काठमाडौं । गत साउन ७ गते हिमालयन बैंकले क्रेडिट कार्ड होल्डरको नाममा एउटा सूचना जारी गर्‍यो । १० जना क्रेडिटकार्ड होल्डरको नाम सार्वजनिक गर्दै बक्यौता रकम चुक्ता गर्न ३५ दिनको समय दियो ।

बैंकका अनुसार क्रेडिटकार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर १० जना ऋणीको नाम सार्वजनिक गरिएकाे हाे । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरू अमृत तामाङ, रामबाबु महतो, प्रमेश बाबु खड्का, ऋषि राम न्यौपाने, सुमन पौडेल, विजय श्रेष्ठ, प्रतीक श्रेष्ठ, मगन बाबु श्रेष्ठ, प्रमोदराज पौडेल र बिना पोखरेल श्रेष्ठकाे नाम पत्रिकामा नै सार्वजनिक गर्‍यो ।

उनीहरूलाई बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेकाे छ ।  तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमोपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएकाे बैंकका एक अधिकारीले बताए ।

यस्तै, ग्लोबल आइएमई बैंकले पनि साउन ८ गते २० जना, ९ गते २२ जना, ११ गते २० जना र १३ गते २० जना गरी हालसम्म ८२ जनाभन्दा बढी क्रेडिट कार्ड होल्डरहरूलाई क्रेडिट कार्डमार्फत लिएको कर्जा चुक्ता गर्न ताकेता गरेको छ । बैंकले ती ऋणहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने चेतावनी समेत दिएको छ ।

‘क्रेडिट कार्ड उपभोग गर्ने ऋणीहरूले क्रेडिट कार्ड लिँदा गरेकाे लिखतको शर्तमा बुझाउनुपर्ने कर्जा समयभित्र नतिरेको र बैंकको मौखिक र लिखित तोकता समेत इन्कार गरेको हुँदा ३५ दिने सूचना प्रकाशित गरिएको हो,’ बैंकले भनेकाे छ, ‘साँवा, ब्याज तथा अन्य दस्तुर समेत बुझाउन सूचित गरिन्छ, उक्त अवधिमा चुत्ता नगरे कानून बमोजिम अघि बढ्छौं ।’

विगतका तुलनामा पछिल्लो समय बैंकका लिलामीका सूचनामा कमी आएको छ । तर, क्रेडिट कार्डमा लिइएकाे कर्जा चुक्ता गर्ने बारेको सार्वजनिक सूचना भने बढेको देखिन्छ ।

हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली आर्थिक मन्दीका कारण क्रेडिट कार्डको कर्जा डिफल्ट भइरहेको अनुभव सुनाउँछन् । समग्र क्षेत्र सुस्ताएको बेला क्रेडिट कार्ड कर्जामा असर परेको उनको भनाइ छ ।

‘अहिले बैंकिङ क्षेत्रका सबै कर्जाहरू उठ्न सकिरहेका छैनन्, व्यवसाय सुस्त छ । किनभने आर्थिक मन्दीका कारण गतिविधि बढ्न सकेका छैनन्, खपतको माग कम भएको छ,’ उनले भने, ‘जसको असर क्रेडिट कार्ड कर्जामा परेको हो, क्रेडिट कार्डबाट कर्जा लिएर टिभी, मोबाइल र घरायसी सामान खरिद गर्ने हो, अहिले आम्दानीमा असर गरेको छ, व्यापार व्यवसाय घाटामा हुँदा तिर्न सकिरहनु भएको छैन ।’

उनका अनुसार क्रेडिट कार्ड होल्डरहरूमध्ये कतिपय बेरोजगार भएका छन् भने कुनैको व्यवसाय बन्द भएको छ ।

विगतमा धिताे लिलामीका सूचना आउँदा बैंकहरूअब डुब्ने भए भन्ने चर्चा हुने गरेकाे थियाे । बैंकहरू पैसा भन्दा पनि घरजग्गाका धनी भए भन्ने बहस पनि हुने गरेकाे थियाे । अहिले क्रेडिट कार्डबाट लिएकाे पैसा नतिरेका सूचना पत्रिकामा बढ्न थालेका छन् । जसमा बैंकले धिताे पनि लिएकाे हुँदैन । धिताेबिना प्रवाह भएकाे कर्जा असुल नहुँदा अहिले बैंकहरुलाई समस्या सिर्जना भइरहेको छ । कर्जा कसरी असुली गर्ने भन्ने विकल्प बैंकरले खोजिरहेका छन् ।

ग्लोबल आइएमई बैंकका एक अधिकारी क्रेडिट कार्डमार्फत् जाने कर्जाकाे सीमा सानो आकारको भएकाले त्यसको ठूलाे असर बैंकिङ क्षेत्रमा नपर्ने बताउँछन् । विगतको तुलनामा क्रेडिट कार्ड कर्जा डिफल्ट बढेको उनले स्वीकार गरे । एउटा कार्ड होल्डरले आम्दानी स्रोतका आधारमा अधिकतम ३ लाख रुपैयाँसम्म कर्जा लिने गरेको उनले बताए ।

‘क्रेडिट कार्डमा बिनाधितो कर्जा दिइन्छ । तर, बिनाधितो दिनुपर्ने भएकाले ठूलो रकम दिँदैनौं, त्यसैले धेरै रकम नभएकाले बैंक डुब्छ कि भनेर डराउनु पर्दैन, कुनै एउटा शाखा कार्यालयमा बिग्रेको ठूलो परिमाणकाे कर्जा जति पनि क्रेडिट कार्डको कर्जा डिफल्ट हुँदैन,’ उनले भने ।

बिनाधितो कर्जा दिनुपर्ने भएको बैंकले ठूलो आकारमा कर्जा नदिने र व्यक्तिको आम्दानी लगायतका विषय मूल्यांकन गरेर कर्जा स्वीकृत गर्न अभ्यास रहेकाे उनको भनाइ छ ।

‘जस्तो कुनै व्यक्तिको ५० हजार रुपैयाँ आम्दानी छ, बैंकले ५० हजार रुपैयाँ आम्दानी छ भन्दैमा त्यो भन्दा बढी कर्जा दिँदैन, किनभने त्यो ५० हजार रुपैयाँ पनि केही रकम सामाजिक सुरक्षा, घरायसी खर्चमा जान सक्छ, त्यसैले सबै खर्च छुट्याएर बाँकी रहेको खुद रकमका आधारमा बैंकले सीमा तोकेर कर्जा दिन्छ,’ ती अधिकारीले भने ।

आर्थिक स्थिति कमजोर भएकाले ठूलो कर्जा बिग्रेको उदाहरण दिँदै सानो कर्जा बिग्रिनु स्वाभाविक रहेको उनले बताए । २०/२५ हजार रुपैयाँ तिर्न नसकेर पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका उदाहरण प्रशस्त रहेको उनको भनाइ छ ।

‘अहिले ठूलो कर्जा नै बिग्रेको छ, यहाँ काम गर्ने मान्छे अहिले विदेश गएका छन्, आम्दानीको स्रोतको घटेको छ, व्यापार व्यवसायलाई निरन्तरता दिन सकेका छैनन्, व्यापार व्यवसाय घटेपछि नाफा पनि घटेको छ, जसले गर्दा यो समस्या आएको हो,’ उनले भने ।

कुन बैंकको कर्जा कति ? 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाबाट २ लाख ८७ हजार ५२२ जनाले क्रेडिट कार्ड लिएका छन् । साथै बैंकहरूले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ क्रेडिट कार्डमार्फत कर्जा दिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकले ३ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकले ९६ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १९ करोड ५९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४० करोड रुपैयाँ, हिमालयन बैंकले ३३ करोड ३९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १४ करोड १९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २८ करोड ३२ लाख रुपैयाँ क्रेडिटकार्डमार्फत कर्जा दिएका छन् ।

माछापुच्छ्रे बैंकले ३४ करोड २६ लाख रुपैयाँ, कुमारी बैंकले ६३ करोड ५९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३५ करोड ६९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ७२ करोड ३६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५३ करोड रुपैयाँ, सिटिजन्स बैंकले ११ करोड ५२ लाख रुपैयाँ, प्राइम बैंकले २७ करोड रुपैयाँ, एनएमबि बैंकले २० करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकले १२ करोड १७ लाख रुपैयाँ र सानिमा बैंकले ९ करोड ७४ लाख रुपैयाँ क्रेडिटकार्डमार्फत कर्जा प्रवाह गरेका हुन् । यस्तै विकास बैंकहरूमा गरिमा विकास बैंकले १ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.