‘परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ’

  २०८१ साउन १५ गते १७:३१     विकासन्युज

काठमाडौं । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् ।

कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्वबारे बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको ‘सशक्त महिला, समृद्ध नेपाल’परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले साउन ९ गतेदेखि शुरु भएको तालिमको आयोजना गरेको हो ।

समापन समारोहको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्शका अध्यक्ष पदमराज चौलागाईले गरेका थिए । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा विशेष अतिथि थिए । समापन समारोहलाई सम्बोधन गर्दै ओझाले हेरचाह अर्थतन्त्र, राज्यले अक्सर बेवास्ता गर्ने महत्त्वपूर्ण आर्थिक गतिविधिमा मुख्यतया महिलाहरू समावेश हुने जानकारी दिए ।

उनले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्न निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्नेमा जोड दिए । आस्था भट्टले तीन दिने तालिमको प्रमुख प्रशिक्षकको रुपमा काम गरिन् ।

सहभागी कृष्ण विष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाहको अर्थतन्त्रको महत्वबारे सरोकारवालाहरूबीच चेतना जगाउने प्रतिबद्धता व्यक्त गरिन् । तीन दिनसम्म चलेको तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.