२०८१ साउन १५ गते १७:४२ विकासन्युज
काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।
राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिएका छन् । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । यसअघि एक सय मिटर फ्रि स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेण्डको कीर्तिमान रहेको थियो ।
उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्र्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो रेकर्ड बनाएका थिए । यो टइमिङमा उनी हिट्समा तेस्रो भए । कुल दश वटा हिट्सको प्रतिष्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिष्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे । जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिष्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थिए ।
गत ओलम्पिक्सम भन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागीता जनाएका हुन् । तीन पटक वल्र्ड च्याम्पियनशीप र एक पटक एशियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनी सिधै अमेरिकाबाट ओलम्पिक्समा भाग लिन पेरिस पुगेका थिए । यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन् ।
एलेक्जेन्डर बाहिरिसँगै नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिष्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिष्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.