कोदो दिवस घोषणा गर्दै सरकार, गत वर्ष मात्र ७५ करोड ४४ लाखको आयात

  २०८१ साउन १६ गते ६:४०     विकासन्युज

काठमाडौं । चौथो राष्ट्रिय कोदो दिवस ललितपुरको खोकनामा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को आयोजनामा सम्पन्न दिवसमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने प्रकृया अगाडि बढेको बताएका हुन् ।

अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेको बताउँदै केही दिनमै कोदोजन्य बाली प्रवर्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने तयारीमा रहेको जनाएका हुन् । गत वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो ।

पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्धनका लागि अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउदै आएका छन्। मंगलवार सम्पन्न दिवसमा संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ), भीएसओ नेपालसमेत कृषि तथा पशुपन्छी मन्त्रालयलेसमेत सहकार्य गर्दै ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ कोदो दिवस मनाइएको हो ।

कृषिमन्त्री अधिकारीले कृषि मन्त्रालयमा आफूले नियमित कोदोको परिकार खाने गरेको पनि बताए । कोदो उत्पादनलाई प्रोत्साहनको निम्ती मन्त्रालयका चेमना गृहहरूले समेत कोदोका परिकार नियमित बनाउने गरेको जनाए ।

उनले केही वर्षअघि दुबै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै ठाउँमा भौतारिएर हिडेको अवस्था रहेको बताए । कोदोको महत्वलाई बुझेर अनाज र महासंघले दिवस मनाउने काम गरेकोमा प्रशंसा गर्दै सरकार सदैव साथमा रहेको जनाए । उनले अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिकाहरू कुपोषण जस्ता रोगहरूसँग जुध्न बाध्य भएको बताउँदै नियमित कोदोका परिकार खान समेत आग्रह गरे ।

राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो आज बहुगुणी चिजको रूपमा परिचित रहेको बताए । उनले कोदोको लागि धेरै मेहनत गर्नु नपर्ने बताउँदै यसको संरक्षण र उत्पादनमा वृद्धि गर्न सबै तहका सरकारहरूले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘महासंघ र अनाजले मात्रा यसलाई प्रवद्र्धन गर्न सम्भव छैन। यसको लागि सरकारले पनि विशेष पहल गर्नुपर्छ ।’

कृषि विज्ञ डा. कृष्ण प्रसाद पौडेलले भविष्यमा खाद्य संकट हुने बताउँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गरे । उनले कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने बताए । राम्रोसँग भण्डारण गरेमा सयौँ वर्ष पनि सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने पौडेलको भनाइ छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठले कोदोको संरक्षण गर्नको लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए । उनले कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहहरूमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेको बताए । श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनैपनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वास्थ्य र देशका लागि नै फाइदा हुने दाबी गरे ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिवले रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रकमा फसेको र स्कुल पढ्ने बच्चाहरू कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्दै कुपोषणबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादनमा प्रवर्र्धन गर्नुपर्ने बताए । श्रेष्ठ मन्त्रालयमा कोदो प्रवर्धनको मुख्य अधिकारीका रुपमा कार्यरत छ ।

कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासंघ र अनाजले कोदो बहस श्रंखलाको सुरुवात गरेको र उक्त कार्यले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताए । उनले कोदोको औषधिक गुणहरु र अन्य पोषक तत्वहरुले गर्दा स्वस्थ खानपानसम्बन्धी व्यवहारका लागि कोदोको प्रवर्धन अत्यावश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समावेसी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेलसमेतका वक्ताहरुले कोदोको महत्वलाई सबैले आत्मसात गर्नमा जोड दिए । कोदोको महत्व बुझेर उपभोग बढीहरेको चर्चा गर्दै वक्ताहरुले उत्पादनमा जोड दिएका छन् ।

पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यवसायिकता र किसानलाई आकर्षण गर्नको लागि आवश्यक नठान्दा सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैँया बराबरको कोदो आयात भएको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ भने २०७९/८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ रुपैयाँको बराबरको कोदो आयात भएको सरकारी तथ्याक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.