२०८१ साउन १६ गते १८:१३ विकासन्युज
ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार यहाँ स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिएका हुन् ।
‘स्थानीय पूर्वाधार विकासका क्षेत्रमा प्रभावकारी रूपमा काम गरौँ, केही अप्ठ्यारा भए मन्त्रालय समन्वय गर्न तयार छ । जनताको प्रत्यक्ष चासोसँग जोडिएका झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवनजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईंहरूकै काँधमा छ, त्यसैले कामको गतिसँगै गुणस्तर बढाउनु लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
त्यस अवसरमा हालसम्म विभागले देशभरि तीन सय ६४ पालिकाका प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको र १ सय ४९ भवन निर्माणाधीन अवस्थामा रहेका जानकारी दिइएको थियो ।
यस्तै, आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहका प्रशासकीय भवन, तीन सय झोलुंगे पुल, ४० वटा सडक पुल र एक सय किलोमिटर पक्की सडक र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.