तल्लो सेती जलविद्युत आयोजनाका लागि ५ सय रोपनी क्षेत्रफल अधिग्रहण

  २०८१ साउन १७ गते ११:३१     विकासन्युज

तनहुँ । तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाका लागि ५ सय रोपनी जग्गा अधिग्रहण गरेको छ ।

मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जलविद्युत आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नं १ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरनी गाउँपालिका–५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा नं २९ प्रभावित हुने बताइएको छ ।

बन्दीपुर गाउँपालिका–६ तथा देवघाट गाउँपालिका–३ को सिमान सराङघाट नजिक दुई सय १३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र दुई सय मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए ।

नेपाल विद्युत प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना सुरु गरेको हो ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए ।

देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उनले जानकारी दिए ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.