यी ५ बैंकमा राष्ट्रिय बीमा कम्पनीको करोडौंको सेयर

  २०८१ साउन १८ गते ८:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकमा करोडौंको सेयर लगानी गरेको छ । कम्पनीले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीमा सेयर लगानी रहेको हो ।

यी ५ वटा संस्थामा कम्पनीको ४ करोड ८० लाख १४ हजार १७८ कित्ता सेयर लगानी रहेको छ । जसमध्ये नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता सेयर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, ग्लोबल आईएमई बैंकमा ५ लाख ६१ हजार ०८६ कित्ता, नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा ३५ लाख ४८ हजार ७७३ कित्ता सेयर लगानी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल आयल निगम, हिमालयन बैंक, नेपाल ल्युव आयल लगायतका संस्थामा समेत लगानी छ । २०८१ असारसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ८१ करोड रुपैयाँको लगानी रहेको कम्पनीको तथ्याङ्क छ ।

सरकारको प्राथमिकतामा रहेका तथा नेपाल बीमा प्राधिकरणद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा लगानी गरेको कम्पनीले जनाएको छ । साथै विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको कम्पनीको भनाइ छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (तत्कालीन राष्ट्रिय बीमा संस्थान) को संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवनको अतिरिक्त कम्पनीको वीरगञ्जमा ६ कठ्ठा जग्गा, धनगढीमा ६ कठ्ठा जग्गा रहेको छ भने भैरहवामा ४ कठ्ठा १० धुर जग्गा र सोमा आफ्नो भवन समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.