राष्ट्रिय वाणिज्य बैंकले गर्याे साढे ३ अर्ब नाफा, ३६ अर्ब ७८ करोड रुपैयाँ पुग्यो जगेडा कोष

  २०८१ साउन २१ गते १२:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकले १० अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा र खुद ब्याज आम्दानी घटेको छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकले गत वर्षको नाफाबाट ३.७२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९१ करोड ८४ करोड रुपैयाँ थियो भने लाभांश क्षमता ६.१५ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी स्थिर १५ अर्ब ६३ करोड रुपैयाँ भने जगेडा कोष ७.६० प्रतिशत बढेर ३६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड रुपैयाँ सञ्चिति थियो ।

गत असारसम्म बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । गत असारसम्म बैंकको खराब कर्जा ३.६५ प्रतिशत छ । अघिल्लो वर्ष ३.७७ प्रतिशत खराब कर्जा थियो । बैंकको प्रतिसेयर आम्दानी २१.७३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.