२०८१ साउन २१ गते १९:१५ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अध्ययन गर्दा मिश्रित नतिजा आएको देखिन्छ । कुनै बैंकका सूचकमा गिरावट आएका देखिन्छ भने कुनै बैंकका सूचक उल्लेख्य बढेका छन् ।
अघिल्लो वर्ष मर्जरमा सामेल भएका ७ बैंकको वित्तीय विवरण पनि सार्वजनिक गरेका छन् । मर्जरपछि सार्वजनिक वित्तीय विवरणमा अधिकांश सूचकमा गिरावट आएको थियो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष भने मर्जरमा सामेल बैंकहरूले उल्लेख्य प्रगति गरेको ब्यालेन्ससिटबाट प्रस्ट देखिन्छ ।
पछिल्लो पटक नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक मर्जरमा सामेल भएका थिए । गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिकपछि मर्जरमा गएका बैंकहरूमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ । कुन बैंकले कस्तो प्रगति गरे भनेर सबैको चासोको विषय बनेको छ । गत वर्ष बैंकिङ क्षेत्रका लागि सहज नभए पनि आर्थिक वर्षको अन्त्यतिर भने बैंकहरूले राम्रो सुधार गरेको देखिन्छ । मर्जरपछि आफूलाई नम्बर वान बनाउने प्रयास र प्रतिस्पर्धा पनि पनि बैंकरहरूबीच चलिरहेको छ ।
मर्जरमा सामेल भएका बैंकहरूले गत वर्ष ३० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जसमध्ये नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । जुन बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै नाफा हो । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकले ५ अर्ब १९ करोड रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ, लक्ष्मी सनराईज बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ८३ करोड रुपैयाँ र कुमारी बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेका हुन् ।
गत वर्ष बैंकहरूको ब्याजदर न्यून बिन्दुमा भएपनि कर्जा लगानी भने खासै वृद्धि गर्न सकेका थिएनन् । गत असारसम्म यी बैंकहरूले २० खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये नबिलले ३ खर्ब ७३ अर्ब रुपैयाँ, ग्लोबल आइएमईले ३ खर्ब ६९ अर्ब रुपैयाँ, एनआईएमबिले ३ खर्ब ७ अर्ब रुपैयाँ, कुमारीले २ खर्ब ७३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले २ खर्ब ५० अर्ब रुपैयाँ, प्रभुले २ खर्ब २५ अर्ब रुपैयाँ र हिमालयनले २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जबकी गत असारसम्म यी बैंकहरूले २६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमईले ४ खर्ब ८७ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै, नबिलले ४ खर्ब ६२ अर्ब रुपैयाँ, एनआईएमबिले ४ खर्ब ३ अर्ब रुपैयाँ, कुमारीले ३ खर्ब ३३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब २८ अर्ब रुपैयाँ, प्रभुले ३ खर्ब ५ अर्ब रुपैयाँ र हिमालयनले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
समीक्षा अवधिमा यी ७ बैंकले ९४ अर्ब ८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै नबिलले १६ अर्ब २० करोड रुपैयाँ, एनआईएमबिले १५ अर्ब १ करोड रुपैयाँ, प्रभु बैंकले १२ अर्ब २ करोड रुपैयाँ, हिमालयन बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ५९ करोड रुपैयाँ र कुमारी बैंकले १० अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
यस्तै, गत असारसम्म मर्जरमा सामेल भएका बैंकहरुको चुक्ता पूँजी १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये ग्लोबल आइएमई र एनआईएमबि बैंकबीच पूँजी वृद्धिमा प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमईको ३६ अर्ब १२ करोड रुपैयाँ छ भने एनआईएमबिको ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, नबिलको २७ अर्ब ५ करोड, कुमारीको २६ अर्ब २२ करोड, प्रभुको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइजको २१ अर्ब १८ करोड र हिमालयनको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।
समीक्षा अवधिमा यी बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ रकम जगेडा कोषमा जम्मा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै एनआईएमबिले ३० अर्ब ५६ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको देखिन्छ । यस्तै नबिलले २८ अर्ब ६५ करोड रुपैयाँ, ग्लोबल आइएमईले २३ अर्ब ७५ करोड रुपैयाँ, हिमालयनले २२ अर्ब ४३ करोड रुपैयाँ, लक्ष्मी सनराइजले १६ अर्ब २८ करोड रुपैयाँ, कुमारीले १४ अर्ब ६६ करोड रुपैयाँ र प्रभुले ११ अर्ब ६६ करोड रुपैयाँ जगेडा कोषमा राखेको तथ्याङ्क छ ।
लगानीकर्ताले सबैभन्दा चासोको रूपमा हेर्ने सूचक प्रतिसेयर आम्दानी (ईपीएस) मा नबिलको २६.०९ रुपैयाँ, प्रभुको १९.०३ रुपैयाँ, ग्लोबल आइएमईको १६.५६ रुपैयाँ, एनआईएमबिको १५.२३ रुपैयाँ, हिमालयनको १३.१ रुपैयाँ, लक्ष्मी सनराइजको १३.०९ रुपैयाँ र कुमारीको ८.८८ रुपैयाँ छ ।
मर्जरमा सामेल बैंकहरूले अधिकांश सूचकमा सकारात्मक फड्को मारे पनि लाभांश क्षमतामा भने कमजोर देखिएका छन् । गत असारसम्मको तथ्याङ्क अनुसार औषत २.५७ प्रतिशत मात्रै लाभांश क्षमता छ । वितरणयोग्य नाफा कम भएका कारण लाभांश क्षमतामा पनि ह्रास आएको हो । गत असारसम्म एनआईएमबी, हिमालयन र कुमारीको वितरणयोग्य नाफा ऋणात्मक छ भएपनि ४ वटा बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा छन् । ग्लोबल आइएमई बैंकको लाभांश क्षमता ३ प्रतिशत मात्र छ भने यस्तै नबिल बैंकको १४.२६ प्रतिशत, प्रभु बैंकको ५.२ प्रतिशत र लक्ष्मी सनराइजको ५.५५ प्रतिशत लाभांश क्षमता छ ।
गत असारसम्म नबिलको खराब कर्जा ३.८५ प्रतिशत, एनआईएमबीको ४.९५ प्रतिशत, ग्लोबल आइएमईको ४.३७ प्रतिशत, प्रभुको ४.७८ प्रतिशत, हिमालयनको ४.९१ प्रतिशत, कुमारीको ४.९५ प्रतिशत र लक्ष्मी सनराइजको ४.७३ प्रतिशत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.