आधुनिक आमाहरू यस कारण मान्दैनन् स्तनपान गराउन

  २०८१ साउन २३ गते १२:१६     विकासन्युज

बच्चा जन्मिँदा हरेक आमाले बच्चालाई दूध चुसाउँछन्, यो नियमित प्रक्रिया हो । वर्षौंदेखि चलिआएको चलन अहिले विस्तारै हराउँदै गएको छ । भ्रामक सूचना र व्यस्त जीवनशैलीलगायत विभिन्न कारण महिलाहरू बच्चालाई जन्म दिएर दूध चुसाउन छोड्न थालेका छन् । यसो गर्नु आमा र बच्चा दुवैका लागि राम्रो होइन । स्तनपानको कुरामा नेपालको स्वास्थ्यमा ठ्याक्कै उल्टो देखिन थालेको छ । जहाँ स्वास्थ्यको सहज पहुँच छैन, बिरामी परेका बेला अस्पताल जानसक्ने अवस्था छैन त्यहाँका महिलाले बच्चालाई दूध चुसाइरहेको पाइन्छ भने जहाँका महिला शिक्षित छन्, अस्पताल नजिक छन् उनीहरूले बच्चालाई जन्म दिएर दूध नचुसाउने गरेको पाइन्छ ।

स्वास्थ्यका सूचांककमा हेर्ने हो भने नेपाल प्रगति गर्दै गएको छ । तर, स्तनपान गर्ने रेट भने नेपालमा घट्दै गएको छ । आजभन्दा १० वर्ष पहिले ७० प्रतिशतमा रहेको स्तनपान गराउने दर अहिले ५५ प्रतिशतमा झरेको छ । यसलाई हामीले सकारात्मक रूपमा लिन मिल्दैन । स्तनपान आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । तर, अझ भन्नुपर्दा बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ र आमाको दूध बच्चाको पहिलो खोप पनि हो । जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खान पाएका बालबालिका हृष्टपुष्ट हुन्छन् । सुरुमा आउने बिगौते दूधमा धेरै किसिमको एन्टिबोडिज हुन्छ । जसले बच्चाहरूलाई लाग्न सक्ने पखाला निमोनिया हुने सम्भावना कम हुन्छ । यति मात्र होइन धेरै किसिमको रोग लाग्नबाट समेत बचाउँछ भने रोगबाट लड्न क्षमता पनि बढाउँछ । जसले दुध खान पाउँदैन त्यस्तो बच्चालाई विभिन्न किसिमका रोग पनि लाग्न सक्छन् । आमाको दूधमा बच्चालाई चाहिने पोषण हुन्छ । कुनै बच्चा समय अगावै जन्मेको हुन्छ भने कुनै समय पछि जन्मेको हुन्छ । हरेक बच्चालाई चाहिने पोषण फरक-फरक हुन्छ । आमाको भन्दा बाहेक अन्य गाईभैंसीको दूधमा बच्चालाई चाहिने किसिमको पोषण हुँदैन । जसले गर्दा बच्चालाई असर गर्छ ।

आमालाई पनि फाइदै फाइदा

बच्चा जन्मिसकेपछि दूध चुसाउँदा बच्चालाई जस्तै फाइदा आमालाई पनि हुन्छ । बच्चा जन्मनेबित्तिकै नियमितरूपमा दूध चुसाउने आमामा बच्चा जन्माइसकेपछि हुने ब्लिडिङ कम हुन्छ भने सुत्केरी भइसकेपछि साल नआउने समस्या पनि हुन्छ । बच्चा जन्माउनेबित्तिकै दुध चुसाउँदा साल निस्किनमा मद्दत गर्छ । ६ महिनासम्म बच्चालाई दूध चुसाइराख्ने आमालाई परिवार नियजोनमा पनि सहयोग पुग्छ । यस्तै, स्तन क्यान्सर, ओभरीको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । मुटरोग, कोलिस्टाेर लगायतका रोग लाग्ने सम्भावना पनि कम हुन्छ भन्ने अध्ययनले देखाएको छ । यस्तै, नियमित बच्चालाई दूध चुसाउने आमाको शरीर पहिलेको अवस्थामा आउन पनि यसले मद्दत गर्छ । स्तनपान गराउँदा बच्चा र आमालाई मात्र फाइदा नभइ सोसाइटीलाई पनि फाइदा छ । यतिमात्र नभइ आर्थिकरूपमा पनि यसको फाइदा छ ।

आर्थिकरूपमा फाइदा

दूध नचुसाउने आमाहरूले बच्चालाई दूधको सट्टा बजारमा पाइने बट्टाको दुध अथवा अन्य खाने कुरा खुवाउँदा आर्थिक बोझ पनि थपिन्छ । बाहिर बजारमा पाइने खानेकुरा बच्चालाई खुवाउँदा रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । एकातिर आमाले आफ्नाे दूध नखाुवाउँदा र बाहिरको दूध किन्नुपर्दा आर्थिकरूपमा पनि भार भयो भने अर्काेतिर बाहिरको खानेकुरा खुवाउँदा बिरामी भई औषधी उपचार गर्नुपर्ने भार झन थपिन्छ ।

तर, आमाले आफ्नै दूध नियमित खुवाउने हो भने यस्तो रोग पनि लाग्दैन र विभिन्न फाइदा पनि हुन्छ । हामीले स्तनपानमा एक रुपैयाँ लगानी गर्यौँ भने ३० देखि ४० प्रतिशत बढी यसले फाइदा दिन्छ पनि भनिन्छ । स्तनपान भनेको कम लगानीमा धेरै फाइदा हुने चिज हो । तर, नेपालमा यसो हुन सकेको छैन

स्तनपान गराउने संख्या घट्दै

नेपालमा ५५ प्रतिशत महिलाले मात्र जन्मेको एक घण्टामा बच्चालाई दूध चुसाउँछन् । आजभन्दा करिब १० वर्ष पहिले ७० प्रतिशत महिला बच्चा जन्मेको एक घण्टा भित्र दूध चुसाएको पाइन्थ्यो । यस्तै ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउने रेट ५६ प्रतिशत छ । सन् २०११ को डाटामा ७० प्रतिशत थियो भने अहिले घटेको छ । पहिलेभन्दा बढ्नुपर्ने ठाउँमा अहिले झन घटिरहेको छ । तर, २ वर्षसम्म आमाको दुध खुवाउनुपर्छ भन्नेमा भने अहिले पनि ९४ प्रतिशत छन् । तथ्यांक हेर्दा के देखियो भने सुरुवातमा आमाको दूध खुवाउनुमा कमी देखियो । सुरुमा आमाले बच्चालाई दूध चुसाउन गाह्रो हुन्छ । त्यसमा फेरि पहिलो बच्चा हो भने त्यस्तो आमालाई झन गाह्रो हुन्छ ।

यसका लागि बच्चा पेटमा भइसकेपछि कहाँ चेकजाँच गराउने, कतिपटक गराउने भनेर जसरी जानकारी दिइन्छ त्यसैगरी बच्चालाई दूध अनिवार्य खुवाउनुपर्छ, यो यो तरिकाले दुध खुवाउन सकिन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने आवश्यकता छ । स्तनपानबारे महिलालाई अगाडि नै मानसिकरूपमा तयार गर्नुपर्छ । यसो गर्दा उनीहरूलाई पहिले नै थाहा हुन्छ ।

अस्पतालमा पनि बच्चा बच्चा जन्मनेबित्तिकै दूध चुसाउन सल्लाह दिनुपर्छ । थापाथली अस्पतालले यो प्रयास गरिरहेको छ । अप्रेसन गरेका महिलालाई भने अलि समस्या हुन्छ । यस्तो बेला त्यस्ता महिलाहरूलाई सहयोग गर्ने सहयोगी पनि हुनुपर्छ । अर्को कुरा अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई अस्पतालबाट घर जानुअघि नै दूध चुसाउन सिकाउनु स्वास्थ्यकर्मीको अनिवार्य काम हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेश अगाडि

सहर बजारभन्दा ग्रामिण क्षेत्रका महिलाहरू बच्चालाई बढी दुध चुसाउँछन् । एक तथ्याकंअनुसार कर्णाली र सदूरपश्चिम प्रदेशमा सुत्केरी भइसकेपछि ६ महिनासम्म बच्चालाई नियमित दूध चुसाउने दर बढी छ । बागमती, लुम्बिनीभन्दा विकट ठाउँमा दूध चुसाउने दर बढी छ । यसमा पनि कारण पक्कै होला ।

हुन सक्छ त्यहाँ बच्चालाई खुवाउन मिल्ने बजारको जस्तो अप्सन नभएर अथवा बच्चा जन्मेपछि दूध चुसाउनुपर्छ भन्ने परम्परागत धारणा पनि हुनसक्छ । जेसुकै भए पनि सहर बजारभन्दा ग्रामीण क्षेत्रमा दूध चुसाउने दर बढी छ । आयका हिसाबले हेर्ने हो भने न्यून आयकाभन्दा उच्च आय भएका र अशिक्षितभन्दा शिक्षित आमाहरूले बच्चालाई दूध कम चुसाउने गरेको पाइएको छ ।

कसैको दूध आउनै गाह्रो

बच्चा जन्माइसकेका सबै आमाकाे पहिले नै दूध आउँदैन । हाम्रोमा पहिलो पटक दूध आएन भने दूध चुसाउनै छाड्ने चलन छ । तर, त्यसो गर्नु हुँदैन । नर्मल बच्चा जन्माएका आमालाई दूध चुसाउन धेरै समस्या हुँदैन । तर, अप्रेसन गरेर बच्चा जन्माएका आमालाई भने बच्चा जन्माउनेबित्तिकै दूध चुसाउन पनि गाह्रो हुन्छ । अर्को कुरा कतिपय महिलाहरूमा दूध नआउने गरेको पाइन्छ । यसो हुनु भनेको दूध चुसाउँदा आमा र बच्चाको अवस्था नमिलेको हुन सक्छ । दूध चुसाउने तरिका नजान्दा पनि धेरै महिलामा दूध नआउने समस्या देखिन्छ ।

तर, हामीले प्रयास गर्दै गयौं भने फेरि दूध आउन थाल्छ । कुन पोजिसनमा राख्दा बच्चालाई दूध चुसाउन सजिलो हुन्छ भन्ने केही तरिका छन् । त्यो नमिल्दा पनि चुसाउन नसकेको हो । पहिलो बच्चा जन्माउँदा कतिपय महिलालाई दूध चुसाउन गाह्रो हुन्छ । बच्चालाई दिनमा वा घण्टामा यति पटक मात्र चुसाउनुपर्छ भन्दा पनि बच्चाले मागेअनुसार मात्र चुसाउनुपर्छ । हामीले एकैपटक धेरै भने खुवाउनु हुँदैन ।

स्थानीय तहको भूमिका 

नेपालमा यो समस्या सबैलाई जग जाहेरै छ । यसको समाधानका लागि आमा एक्लैको प्रयास मात्रले हुँदैन । परिवार, समाज, सरकार र मिडिया सबैको उत्तिकै भूमिका हुन्छ । यसमा सबैभन्दा पहिले आमाले बुझ्नुपर्ने हुन्छ । त्यसपछि अस्पतालमा आएपछि स्वास्थ्यकर्मीले सहयोग गर्नुपर्याे । अर्को कुरा यसमा सबैभन्दा बढी भूमिक स्थानीय सरकारको हुनुपर्छ । उसले यसका लागि सचेतनामूलक कार्यक्रम मात्र गर्ने हो भने धेरै सहयोग हुन्छ । विश्वका कतिपय देशमा ब्रेस्ट फिडिङ सपोर्ट ग्रुप छन् । उनीहरूले भोलेन्टियर राखेका हुन्छन् ।

कसैलाई दूध चुसाउन गाह्रो पर्छ भने उनीहरूले त्यहाँ फोन गर्छन् र  भोलेन्टियरले सहयोग गर्छन् । त्यसमा अस्पतालबाट रिटायर्ड स्वास्थ्यकर्मी हुन्छन् । महिलाको कुनै समस्या आयो भने सकेसम्म फोनमै सल्लाह दिइन्छ । समस्या जटिल रहेछ भने घरमै पुगेर पनि सहयोग गरिन्छ । हाम्रो अहिलेको स्थानीय सरकारले पनि यस्तो ग्रुप बनाउन सक्छ ।

यसले समस्या भएका महिलालाई सहयोग पुग्छ । साथै, बच्चा र आमालाई भएको कुनै समस्या छ भने पनि पहिचान हुन्छ । हरेक ठाउँमा स्थानीय समूहले सहयोग समूह बनाउन सक्यो भने यसले सहज हुन्छ । अहिले पनि धेरै ठाउँमा बच्चालाई दूध खुवाउने क्रममा विभिन्न मान्यताहरू हाबी भएका छन् । कुनै ठाउँ बिगौते दुध बच्चालाई खुवाउनु हुन्न भन्ने छ भने कुनै ठाउँमा दूध चुसाउँदा शारीरको बनावट बिग्रने भन्ने गलत सोच छ । यस्तै कारण अहिले पनि स्तनपानसम्बन्धी सही सूचना नागरिकहरूले पाउन सकिरहेका छैनन् ।

(वरिष्ठ परामर्शदाता तथा बाल रोग विशेषज्ञ डा.शैलेन्द्रवीर कर्मचार्यसँग गरिएकाे कुराकानी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.