२०८१ साउन २३ गते ७:०२ विकासन्युज
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे ।
नगरप्रमुख पौडेलले भने, ‘इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ, सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ, सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ । ।’
उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा बस खरिद गरिएको बताए । उनका अनुसार बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।
नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.