सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक

  २०८१ साउन २३ गते ७:५६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।

बैंकले बुधबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले ६० जना ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ ।

उनीहरूलाई बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटकपटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकले सूचनामा भनेको छ ।

सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.