२०८१ साउन २३ गते १७:२६ लक्ष्मण लम्साल
काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको सलिको इन्स्योरेन्स स्रोतले विकासन्युजलाई जानकारी दिएको छ ।
दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको १८ करोड रुपैयाँ बराबरको बीमा गरिएको छ भने यात्रूहरूको २० हजार अमेरीकी डलर र हेलिकप्टर पाइलटको १ लाख अमेरीकी डलरको बीमा गरिएको कम्पनी स्रोतले बतायो ।
तर, हेलिकप्टरको बीमामा बीमाङ्क रकमको ५ प्रतिशत कट्टा गरेर बाँकी रकम दाबी भुक्तानी दिईने बीमालेख शर्तमा उल्लेख छ । त्यसैले हेलिकप्टर कम्पनीले बीमा दाबी बापत १७ करोड १० लाख रुपैयाँ पाउनेछ ।
कम्पनी स्रोतका अनुसार मृतक पाइलटका परिवारले भने एक लाख डलर अर्थात् १ करोड ३३ लाख रुपैयाँ र ४ जना यात्रुका परिवारले भने प्रतिव्यक्ति २० हजार डलरका दरले ८० हजार डलर अर्थात् १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउनेछन् ।
यदि सो हेलिकप्टरमा कार्गाे अथवा कुनै सामाग्रीमा क्षति भएको छ भने पनि बीमा कम्पनीले क्षतिको विवरण हेरेर दाबी भुक्तानी दिनेछ । साथै हेलिकप्टर दुर्घटना हुँदा तेस्रो पक्षलाई पनि क्षति भएको छ भने त्यसको दायित्व पनि बीमा कम्पनीले बेहोर्ने छ । तर, कार्गाे र तेस्रो पक्षको क्षतिको विवरण भने सर्भेयरले सर्भे गरेपछि मात्रै यकिन तथ्याङ्क आउने कम्पनीले बताएको छ ।
कम्पनी स्रोतका अनुसार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको कुल बीमा दाबी २० करोड रुपैयाँसम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रहने देखिन्छ । बीमा कम्पनीको दायित्य ३० लाख रुपैयाँ र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने बीमा कम्पनीले बताएको छ ।
उक्त हेलिकप्टर बीमाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स सहित विश्वका ७ पुनर्बीमा कम्पनीमा गरेको कम्पनीले बताएको छ । नेपाल रिइन्स्योरेन्सले भने ४ करोड रुपैयाँ दायीत्व बेहोर्नुपर्ने देखिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.