२०८१ साउन २४ गते १३:३६ लक्ष्मण लम्साल
काठमाडौं । बीमा दाबी भुक्तानी नपाएर नेपाल बीमा प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा र आम जनताले बीमाका नियम तथा सर्तहरू नबुझ्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो ।
बीमा भनेको परम विश्वासको अवधारणमा चल्ने विषय हो । अर्थात बीमित र बीमकबीच परम विश्वास हुन्छ भन्ने अवधारणा हो । यो अवधारणा विश्वका देशहरूमा सायदै सत्य सावित होला । तर, नेपालको सन्दर्भमा भने बीमा परम अविश्वासको अवधारणा अन्तर्गत सञ्चालन भएको हो कि भन्ने जस्तो परिदृश्य बनिरहेको छ ।
भलै बीमा धोकाधडी भने विश्वका जुनै पनि देशमा नहुने होइन । तर, दाबी भुक्तानीको सन्दर्भमा भने विदेशी कम्पनीहरू जवाफदेही नै हुने बीमाका जानकारहरू बताउँछन् ।
नेपालका कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिँदा बीमितहरू प्राधिकरणको शरणमा पुग्ने गरेको बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । ‘केही कम्पनीहरूले कुनै विषय देखाएर दाबी भुक्तानीमा झुलाउने, ढिला गर्ने र सकभर दिन नपरे हुन्थ्यो भन्ने सोचले गर्दा प्राधिकरणको शरणमा बीमितहरू पुगेका हुन्,’ उनी भन्छन् ।
उसो त उनले यसरी प्राधिकरणमा उजुरी बढ्नुमा बीमा कम्पनीहरूको मात्र दोष भने नरहेको बताउँछन् । उनका अनुसार बीमितहरूमा पनि बीमा गर्दाको बीमालेख र त्यसको सर्तहरू नबुझेर पनि दाबी भुक्तानी दिलाइदिन गुहार गर्दै प्राधिकरण पुग्छन् । यसैगरी केही बीमितहरूले फ्रड गरेर, केहीले बुझेर पनि प्राधिकरणमा जादाँ केही प्राप्त हुन्छ कि भन्ने सोचेर पनि उजुरी दिने गरेको विज्ञ शर्मा बताउँछन् ।
प्रचुर मात्रामा आम जनतालाई बीमासम्बन्धी शिक्षा दिएर, बीमा बारे सबैलाई सचेत गराएर र कम्पनीहरू पनि जवाफदेही भएर अघि बढ्दा यसरी उजुरी दिनेको संख्या घट्ने उनको भनाइ छ । कम्पनीले अत्यावश्यक कागजातका आधारमा केही भुक्तानी तत्कालै दिनुपर्ने उनको धारणा रहेको छ ।
बीमा क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी रुपमा नियमन तथा कमजोरी गर्ने कम्पनीलाई कारवाही नगर्दा पनि कम्पनीहरुको मनोमानी बढेको बीमाका जानकारहरु बताउँछन् ।
बीमकहरू भने बीमा कम्पनीहरूको कुनै कैफियत नरहेको दाबी गर्छन् । बीमा कम्पनीहरूको छाता संस्था नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री दाबी भुक्तानीको शन्दर्भमा बीमा कम्पनीहरूमा कुनै समस्या नभएको दाबी गर्छन् ।
सगरमाथा लुम्बिनी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले बीमितहरूले बीमाको नियम तथा सर्तहरू नबुझेर प्राधिकरण धाउने गरेको बताए । उनले बीमा फ्रडका कारण पनि प्राधिकरणमा उजुरी बढेको हुन सक्ने अनुमान प्रस्तुत गरे ।
प्राधिकरणमा उजुरीको चाङ
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आव २०८०/०८१ मा उजुरीको संख्या ५७.४१ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवमा १५५ वटा उजुरी परेका थिए भने गत आवमा २४४ वटा उजुरी परेका छन् ।
आव २०७५/०७६ मा १०० वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा उजुरीको संख्या २६ प्रतिशतले बढेर १२६ वटा उजुरी परेको थियो । त्यसैगरी ०७७/०७८ मा १३७, ०७८/०९७ र ०७९/०८० मा समान १५५ वटाका दरले उजुरी परेको थियो ।
आव २०७५/०७६ मा ८५ वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा ९१, आव ०७७/०७८ मा ९३, आव ०७८/०९७ मा १५२, आव ०७९/०८० मा समान १४९ र आव २०८०/०८१ मा १५० वटा उजुरी फर्छ्यौट गरेको छ ।
अझै १८७ वटा उजुरी फच्छ्र्यौट गर्न बाँकी रहेको प्राधिकणले जनाएको छ । फर्छ्यौट नभएका उजुरीहरू क्रमशः आउँदा वर्षहरूमा सर्दै जान्छ । र, फैसला पनि आउँदा वर्षहरुमा नै हुने गर्दछ ।
कर्मचारी अभावका कारण प्राधिकरणले समयमा उजुरीहरूलाई फर्छ्यौट गर्न नसकेको बताएको छ । प्राधिकरणको उजुरी शाखामा अहिले एक उप-निर्देशक र २ जना सहायक निर्देशक गरी जम्मा ३ जनाको दरबन्दी छ ।
प्राधिकरणमा विगत ५ वर्षदेखिका केही उजुरीहरु फर्छ्यौट हुन बाँकी नै छ । प्राधिकरणले मानिसहरुमा जनचेतनाको कमीका कारण उजुरीको संख्या बढ्ने गरेको बताएको छ ।
प्राधिकरणकी सहायक गुनासो अधिकारी रन्जिता केसीले बीमितहरुले बीमाको सर्तहरु नबुझी पोलिसि खरिद गर्ने लहडले उजुरी बढ्को बताइन् । ‘बीमा गर्दा सर्तहरु हुन्छन् । मानिसहरु बीमा गरेपछि पैसा पाइन्छ भन्ने बुझ्छन् । त्यसको सर्तहरुलाई ध्यान दिँइदैनन् । यसकारणले पनि उजुरी बढ्ने गरेको छ,’ उनले भनिन् ।
प्राधिकरणले अहिले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त कार्यलय विस्तारसँगै जनतालाई कम्पनीविरुद्ध असन्तुष्टि भएमा उजुरी दिन सकिन्छ भरेर प्राधिकरणले सुसूचित गराएको उनले उल्लेख गरिन् । यसरी जनताहरू थप सचेत भएर पनि उजुरीको संख्या बढेको उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.