२०८१ साउन २५ गते ११:०२ विकासन्युज
काठमाडौं । विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्कनुभएका मुहम्मद युनुसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने धेरै सत्ता विरोधीहरूले पछिल्लो ३५ वर्षमा आफ्नो मुलुकमा शासन गरेका थिए ।
म्यान्मा : आङ सान सु की
सैन्य शासनकालमा करिब दुई दशकसम्म घरमै नजरबन्दमा रहेकी सु कीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
अन्ततः सेनाले सन् २०१० मा उनलाई स्वतन्त्रता प्रदान गर्यो । उनी सन् २०१६ मा सत्तामा आइन् र सन् २०२१ सम्म शासन गरिन् । तर, रोहिङ्ग्या सङ्कटलाई सम्बोधन गर्ने उनको सरकारको तरिकाबाट विदेशमा उनको विरासतलाई धेरै क्षति भयो ।
सन् २०१७ को सेनाको कारवाहीप्रति विश्वव्यापी रूपमा घृणा उत्पन्न भएको थियो । सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब ७ लाख ५० हजार सदस्यलाई आफ्नो जलिरहेको गाउँबाट छिमेकी बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो ।
सन् २०२१ फेब्रुअरीमा सैन्य विद्रोहबाट सु कीको सरकार अपदस्थ भएपछि उनलाई हिरासतमा लिइएको थियो । यसबाट म्यान्मामा संक्षिप्त लोकतान्त्रिक प्रयोग समाप्त भयो र व्यापक विरोध प्रदर्शन सुरु भयो । त्यसपछि उनलाई जुन्ता नियन्त्रित मुलुक म्यान्मामा २७ वर्षको जेल सजाय भयो ।
पूर्वी टिमोर : जोस रामोस–होर्टा
स्वतन्त्रता समर्थक जोस रामोस–होर्टालाई सन् १९९६ मा क्याथोलिक विशप कार्लोस जिमेनेस फिलिप बेलोसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रामोस–होर्टालाई दुई लाख मानिसको ज्यान लिने तीतो द्वन्द्वको अन्त्य गर्ने प्रयासका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो ।
इन्डोनेसियाले सन् १९७६ मा पूर्वी टिमोरलाई कब्जामा लिएको थियो । रामोस–होर्टाले पहिलो पटक सन् २००७ देखि सन् २०१२ सम्म दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो मुलुक पूर्वी टिमोरको राष्ट्रपतिका रूपमा काम गरे । उनी मुलुकको पहिलो प्रधानमन्त्री पनि थिए ।
सन् २००८ को हत्या प्रयासबाट बाँचेका उनी सन् २०२२ मेदेखि पुनः राष्ट्रपति छन् ।
दक्षिण कोरिया : किम-दाए-जुङ
हत्या प्रयास र मृत्युदण्डबाट बच्नुभएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम–दाए–जुङ अथक प्रजातन्त्र अभियानकर्ता थिए ।
दशकौँमा दक्षिण कोरियाको पहिलो उदारवादी राष्ट्रपति उनले उत्तर कोरियासँग संलग्न हुने ‘सनसाइन पोलिसी’ को स्थापना गर्नुभयो र कोरियाली युद्धपछि पहिलो अन्तर–कोरयाली शिखर सम्मेलनका लागि सन् २००० मा प्योङयाङको भ्रमण गरे । सोही वर्ष उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।
उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति हुनुहुन्थ्यो । सन् २००९ मा उनको निधन भयो ।
दक्षिण अफ्रिका : नेल्सन मन्डेला
दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी प्रतीक मन्डेला र निवर्तमान श्वेत राष्ट्रपति फ्रेडरिक डि क्लार्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार जितेका थिए ।
मन्डेलालाई २७ वर्षसम्म जेलमा राखियो र सन् १९९० मा उनको रिहाइले रङ्गभेदको अन्त्य भयो ।
सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति बने । उनले पाँच वर्षको कार्यकाल पूरा गरे । पदभार ग्रहण गर्दा उनले आफैँ र विश्वको शान्तिमा इन्द्रेणी मुलुकतर्फ काम गरिरहेको बताएका थिए । उनको सन् २०१३ मा ९५ वर्षको उमेरमा निधन भयो ।
पोल्यान्ड : लेक वालेसा
कम्युनिस्ट ब्लकको पहिलो र एकमात्र स्वतन्त्र ट्रेड युनियन, सोलिडारिटीका नेता वालेसाले सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । उनी सन् १९९० मा युद्धपछि पोल्यान्डको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति थिए ।
उनले दोस्रो विश्व युद्धपछि मुलुकमा तैनाथ सोभियत सङ्घका सैनिकहरूको प्रस्थानलाई सुनिश्चित गरे । सन् १९९५ र सन् २००० को निर्वाचनमा उनी पराजित भए । सार्वजनिक भाषणमा फर्केर उनले विश्व यात्रा गरे र शान्तिपूर्ण सङ्क्रमणको सन्देश फैलाए ।
उनीमाथि बारम्बार डरलाग्दो गोप्य सेवासँग एजेन्ट कोड ‘बोलेक’ नामको रूपमा काम गरेको आरोप लगाइएको थियो । जसलाई उनले अस्वीकार गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.