आन्दोलनकारीले सर्वोच्च अदालत घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश राजीनामा दिन बाध्य

  २०८१ साउन २६ गते १४:०३     विकासन्युज

काठमाडाैं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।

शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रधानन्यायाधीश हसन राजीनामा दिन बाध्य भएका हुन् ।

आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए।

अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन् ।

अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए ।

हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् ।

राजीनामाका लागि केही औपचारिकताहरू बाँकी रहेको र ती औपचारिकताहरू पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउने उनले बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.