ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा : अध्यक्ष ढकाल

  २०८१ साउन २६ गते १५:००     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत
अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् ।

मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।

केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरूमध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए ।

जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरू विकासको संवाहक हुने उनको भनाइ थियो ।

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.