२०८१ साउन २८ गते १२:३८ विकासन्युज
काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्ने भएको छ ।
कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सीधा उडान पुनः सुरु गर्न लागेको हो ।
यो सिधा उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ ।
ग्राहक अनुभवलाई सुदृढ बनाउन कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।
सुरुमा सातामा एक उडान मात्र गर्ने कम्पनीले माग भएसँगै थप्दै लैजाने योजना छ । पहिलो उडान काठमाडौंबाट मध्यरात १२ बजेर ४० मिनेटमा उड्ने जहाज स्थानीय समयअनुसार कुवेत बिहान ३ बजेर १५ मिनेटमा पुग्नेछ ।
त्यसैगरी कुवेतबाट स्थानीय समय बिहान ४ बजेर १५ मिनेटमा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौं अवतरण हुने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.