बैंकका कर्मचारीहरूले बुझे ६६ अर्ब रुपैयाँ तलब

  २०८१ साउन २८ गते १७:३१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीहरूलाई ६६ अर्ब रुपैयाँ भन्दा बढी तलब भुक्तानी गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूले कर्मचारीहरूलाई कर्मचारीहरूलाई १७.४६ प्रतिशत अर्थात् ९ अर्ब ८२ करोड २७ लाख ९३ हजार रुपैयाँ बढी तलब भुक्तानी गरेका हुन् ।

गत असारसम्म २० वटा बैंकले कर्मचारीहरूलाई ६६ अर्ब ६ करोड ४० लाख १३ हजार रुपैयाँ तलब खुवाएको तथ्याङ्क छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकहरूले ५६ अर्ब २४ करोड १२ लाख २० हजार रुपैयाँ तलब कर्मचारीहरूलाई भुक्तानी गरेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार ४५ हजार जना कर्मचारी बैंकमा कार्यरत छन् । पछिल्लो तथ्याङ्क अनुसार ४५ हजार जना कर्मचारी बैंकमा कार्यरत छन् । गत वर्ष कर्मचारीहरूलाई भुक्तान गरिएको तलबका आधारमा एक जना बैंकरले औसत १४ लाख ६६ हजार रुपैयाँसम्म बुझेको देखिन्छ । तर, उक्त तलब बैंकमा कार्यरत उच्च व्यवस्थापकदेखि तल्लो तहसम्मका कर्मचारीको समेत हो ।

गत वर्ष लक्ष्मी सनराइज बैंकको कर्मचारी खर्च अर्थात् तलब वृद्धि सबैभन्दा धेरै भएको देखिन्छ । बैंकको १२५.८२ प्रतिशत बढेर ४ अर्ब २५ करोड ४६ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कर्मचारीहरूलाई तलब खुवाएको थियो ।

साविक लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जपश्चात् कर्मचारी संख्या बढेकाले कर्मचारी खर्च पनि बढेको बैंकका चिफ फाइनान्सियल अफिसर तथा कम्पनी सचिव पियुसराज अर्याल बताउँछन् । कर्मचारीको तलब वृद्धि निरन्तर प्रक्रिया भएको र श्रम ऐन अनुसार ४ प्रतिशत बढाउनुपर्ने प्रावधान रहेको उनले बताए । तर, गत वर्ष भने मर्जका कारण कर्मचारी संख्या बढेकाले कर्मचारीको तलब खर्च पनि वृद्धि भएको उनको भनाइ छ ।

‘बैंकको कर्मचारी खर्च बढ्नु स्वभाविक हो । किनभने अघिल्लो वर्ष लक्ष्मी बैंकको मात्रै कर्मचारी थियो भने गत वर्ष सनराइज बैंकको गरी २ बैंकका कर्मचारी भएपछि कर्मचारी खर्च बढेको हो,’ उनले भने, ‘अघिल्लो वर्ष १५ सय जना कर्मचारी थिए भने अहिले ३ हजार कर्मचारी पुगेका छन्, त्यसैले कर्मचारीको तलबभत्ता बढ्न पुगेको हो ।’

गत वर्ष कुमारी बैंकको कर्मचारी खर्च ९९.३६ प्रतिशत बढेर ४ अर्ब ४० करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ । जबकी अघिल्लो वर्ष यस बैंकले २ अर्ब २० करोड ९८ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो ।

यस्तै हिमालयन बैंकको ५४.८५ प्रतिशत बढेर ३ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकको ४५.०७ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ, प्राइम बैंकको ३२.९५ प्रतिशत बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.७१ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ कर्मचारीलाई तलब भुक्तानी गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको १८.२६ प्रतिशत बढेर ४ अर्ब ६९ करोड २० लाख रुपैयाँ, ग्लोबल आइमएई बैंकको ११.६१ प्रतिशत बढेर ४ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ७.२९ प्रतिशत बढेर २ अर्ब २८ करोड ५३ लाख रुपैयाँ, सानिमा बैंकको ६.५३ प्रतिशत बढेर १ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ कर्मचारी खर्च गरेका हुन् ।

नबिल बैंकको ५.३२ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ, कृषि विकास बैंकको ४.५६ प्रतिशत बढेर ३ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २.९० प्रतिशत बढेर २ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ, स्टयाण्डर्ड चार्टर्ड बैंकको २.८३ प्रतिशत बढेर १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका हुन् ।

तर, गत वर्ष विभिन्न ६ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । गत वर्ष माछापुच्छ«े बैंकको ०.१५ प्रतिशत घटेर २ अर्ब ११ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ ।

यस्तै सिटिजन्स बैंकको ०.४४ प्रतिशत घटेर १ अर्ब ८८ करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ०.७७ प्रतिशत घटेर १ अर्ब ९६ करोड १४ लाख रुपैयाँ, एनएमबी बैंकको १.७५ प्रतिशत घटेर २ अर्ब ६४ करोड २० लाख रुपैयाँ, नेपाल बैंकको ३.७२ प्रतिशत घटेर ३ अर्ब ७४ करोड ८ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको १०.६६ प्रतिशत घटेर ४ अर्ब ४३ करोड १९ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ ।

बैंकहरूले आआफ्नै कर्मचारी नीति नियम बनाएका हुन्छन् । सोही बमोजिम कर्मचारीहरूको तलब तथा अन्य सेवा सुविधा वृद्धि हुने भएकाले बैंकको कर्मचारी बढ्ने गरेको बैंकरहरू बताउँछन् । कर्मचारीहरूको निरन्तर ग्रेड वृद्धि भइरहन्छ । जस्तो कुनै कर्मचारीको कार्यसम्पादनका आधारमा सेवासुविधा बढ्छ भने कुनै कर्मचारीको सेवा अवधिका आधारमा वृद्धि हरने गरेको एक बैंकरले बताए ।

‘बैंकको आआफ्नो कर्मचारी नीति निर्देशन हुन्छन्, जसमा निश्चित प्रतिशत ग्रेड दिने भनिएको हुन्छ । त्यो ग्रेड कर्मचारीको पर्फमेन्स हेरेर हुन्छ,’ उनले भने, ‘फेरी ५ वर्ष, १० वर्ष, २० वर्ष सेवा अवधिका आधारमा पनि तलब वृद्धि भइरहन्छ, तलब नबढेपनि ‘ग्राचुटी’ भने बढीरहन्छ, कहिलेकाहीँ नीतिगत व्यवस्थाका कारण कर्मचारीको तलब वृद्धि हुने गर्दछ ।’

दुई बैंकका कर्मचारीलाई १७ महिनाको तलब, कुन बैंकमा कति महिनाको बोनस ?

वाणिज्य बैंकमा ४५ हजारलाई जागिर, नयाँलाई सरकारी बैंकमा बढी अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.