पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

  २०८१ साउन २८ गते १७:२९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आव २०८१/८२ मा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा सोमबार आयोजित गत आव २०८०/८१ का कार्य प्रगतिबारे समिक्षा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले विषयगत मन्त्रालयको खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेकाले त्यसतर्फ जिम्मेवार हामी सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

उनले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गर्दै बाधक देखिएका त्यस्ता ऐन, कानुनलाई समसामयिक, व्यावहारिक एवं कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिए ।

आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नाले पनि कार्यप्रगतिमा वाधा अवरोध सिर्जना भएको उनको भनाइ थियो । सेवामा इमानदारीपूर्वक खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालय अन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग सञ्चारमन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियोे नेपाल, गोरखापत्रलगायतका संस्थानका आफ्नै चलअचल सम्पतिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए ।

‘हामीले हाम्रै सम्पतिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ,’ उनले भने, ‘अल अचल सम्पतिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिउँ ।’

उनले राष्ट्रिय गौरवका योजनाहरुमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे । मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ को रूपमा लिएको जानकारी दिए ।

मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटेलाईट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टीङ प्रेस) आफ्नै बनाउने उनले बताए । ‘अबको विकास सूचना प्रविधिको हो,’ उनले भने, ‘हामीले यी विषयलाई ‘हिरो मिसन’ का रूपमा लिई अघि बढ्नुपर्दछ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभइ समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताए । उनले प्रविधिको विकास एवं विस्तारसहित रोजगारी सिर्जनाका सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा गरेको बताइन् । कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभाग र निकायका प्रमुख र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.