२०८१ साउन २९ गते १७:१० विकासन्युज
काठमाडौं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस गरेको थियो । जेठ २३ गते आह्वान गरेको विज्ञापनमा आवेदन दिएकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोटमा परेका थिए ।
मन्त्रालयले बैतडीका कर्ण बहादुर कुँवर, काठमाडौंका गोपाल घिमिरे र इलामका प्रकाशप्रसाद पोखरेल सिफारिस गरेको थियो। ती जनामध्येबाट सरकारले पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पाेखरेल नेकपा एमाले निकट मानिन्छन् ।
उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए । नेफ्स्कुनबाट बाहिरिएपछि उनले विभिन्न ठाउँमा आवेदन पनि दिएका थिए । उनले यसअघि सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि पनि आवेदन दिएक थिए । तर, उनी सर्टलिष्टबाटै बाहिरिएका थिए ।
यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा कर्मचारी थिए ।
मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.