२०८१ भदौ १ गते १०:४२ विकासन्युज
भद्रपुर । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित १ अर्ब १८ करोड १६ लाखमध्ये ९९ करोड ६७ लाख १९ हजार रुपैयाँ खर्च भएको छ ।
आयोजनाको ८४.३५ प्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् ।
‘आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग, संघीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्,’ उनले भने ।
भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर एक अर्ब ४५ करोड ७४ लाख रुपैयाँमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय दुई करोड २४ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ ।
यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ ।
त्यस्तै, आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज संकलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.