२०८१ भदौ २ गते ६:५३ विकासन्युज
काठमाडौं । सरकारले युवा वैज्ञानिक मागेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
यस प्रज्ञा–प्रतिष्ठानबाट चालु आर्थिक वर्ष २०८१/८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिहरूलाई २१ दिनभित्र अनुसन्धान प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आवेदन दिँदा अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ ।
अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति÷समूहगतको अनुसन्धानका लागि ५ लाख रुपैयाँ, संस्थागतको लागि १० लाख रुपैयाँ र बहु विधागतको लागि १२ लाख रुपैयाँसम्म रहेको छ ।
माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि ५० हजार रुपैयाँ, र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि १ लाख रुपैयाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि १ लाख रुपैयाँसम्म अधिकतम बजेट सीमा रहेको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले बताएको छ ।
विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्नेछ । अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.