भारतले थप २५१ मेगावाट बिजुली किन्ने

  २०८१ भदौ ३ गते १५:४१     विकासन्युज

फाइल फोटो

काठमाडौं । भारतले नेपालका एक दर्जज जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत लैजाने भएको छ ।

भारतले बिहार राज्यमा प्रयोग हुने गरी थप विद्युत लैजान स्वीकृत गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको हो ।

यो स्वीकृतिसँगै कुल २८ योजनाबाट ९४१ मेगावाट कुल निर्यात हुने भएको छ । २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्ष २०८०र०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल दक्षिण एसियामै धेरै विद्युत् निर्यात गर्ने देश बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा बढीले बढेको छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ ।

यो सम्झौताको पहिलो वर्ष हो र झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । ‍नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ ।

बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुंगो लागेर २०८१ साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त योजना स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.