लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै

  २०८१ भदौ ५ गते ७:४८     विकासन्युज

काठमाडौं । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाख रुपैयाँभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७ सय रुपैयाँ बक्यौता सङ्कलन गरेको हो ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार १ हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा १ हजार २७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । १ हजार ४३६ ग्राहकबाट ३ करोड ५० लाख ५६ हजार ६७४ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो । तर, ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा १ करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला ३ करोड ६४ लाख ५७ हजार ६८२ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार ६१३ रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार २७८ रुपैयाँ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष ७.९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२.७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.