दूध नपाउँदा ‘चितवन मिल्क’ ४ महिनादेखि बन्द

  २०८१ भदौ ५ गते १४:३५     विकासन्युज

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फर्महरूको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो ।

उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो । भरतपुर महानगरपालिका वडा नं १ ठिमुरामा उद्योग रहेको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न संघसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको बताए । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।

सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए । गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन् ।

उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख रुपैयाँ खर्च हुने पराजुली बताउँछन् । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी रहेको छ । केही महिनाभित्रमै सबै सामग्री खाली हुने उनको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका ८ हजार ब्लक नौनी र ३ हजार ५ सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध रहेको थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.