संघीय अस्पतालका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

  २०८१ भदौ ५ गते १४:५५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा खेर गैरहेका उपकरण मर्मतका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.