२०८१ भदौ ८ गते १८:२८ विकासन्युज
काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरक इंकले मुम्बईको पोश वर्ली क्षेत्रमा रहेको प्रिमियम कमर्सियल टावरमा ४२ हजार ७ सय वर्ग फिटभन्दा बढी अफिस स्पेस खरिद गरेको छ ।
कम्पनीले यो ठाउँ ५ वर्षको लामो समयका लागि भाडामा लिएको हो । यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्यारी फिंकलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । यसको कारण ब्ल्याकरक इंकले संसारमा १ हजार खर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्दछ ।
यो रकम भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब साढे दुई गुणा र अमेरिकाको आधा जीडीपी हो ।
यस कम्पनीले विश्वको कुल सेयर र बन्डको १० प्रतिशत ह्यान्डल गरेको तथ्यबाट नै ब्ल्याकरकको स्थिति अनुमान गर्न सकिन्छ ।
ब्ल्याकरकको भारतीय युनिट ब्ल्याकरक सर्भिसेस इन्डियाले मुम्बईमा ठाउँ भाडामा लिएको छ । सम्झौताअनुसार कम्पनीले पहिलो वर्ष प्रतिमहिना ३ सय २५ प्रतिवर्गफिटका दरले भाडा तिर्नुपर्ने छ ।
उक्त सम्झौतामा सन् २०२५ अप्रिलमा ५ प्रतिशत त्यसको एक वर्षपछि १० प्रतिशत र २०२७ र २०२८ मा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख छ ।
अमेरिकाको न्युयोर्कस्थित कम्पनीले कमर्सियल टावर अल्टिमसको चौथो तल्लाको जग्गा परियोजनाको विकासकर्ता रहेजा कर्पोरेसनबाट सिधै भाडामा लिएको हो ।
रियल इस्टेट डाटा एनालिटिक्स फर्म प्रोपस्ट्याकबाट प्राप्त कागजातहरूका अनुसार भाडा यस महिना सुरु हुनेछ र ३६ महिनाको लकइन अवधि छ ।
साउनमा लीज सम्झौता दर्ता गर्दा कम्पनीले १० महिनाको भाडा बराबर १२ करोड ८० लाख रुपैयाँ धरौटी बुझाएको छ ।
ब्ल्याकरकले भारतको द्रुत रूपमा बढ्दो वित्तीय बजारहरूमा आफ्नो उपस्थिति स्थापित गर्न चाहेको बताइएको छ । कम्पनी सन् २००८ मा भारत प्रवेश गरेको थियो ।
कम्पनीले ब्ल्याकरक म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवासहित विभिन्न लगानी समस्याको समाधान प्रदान गर्दछ ।
कम्पनीले संस्थागत र खुद्रा ग्राहक दुवै सेवा गर्दछ । यसको मुम्बई, गुडगाउँ र बेंगलुरुमा कार्यालयहरू छन् । गत वर्ष जुलाईमा जियो फाइनान्सियल सर्भिसेस र ब्ल्याकरकले संयुक्त उद्यम घोषणा गरेका थिए । कम्पनीको योजना डिजिटल फर्स्ट एसेट म्यानेजर लञ्च गर्ने छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.