ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी

  २०८१ भदौ ९ गते १३:३३     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म १३ लाख ६३ हजार ७ सय रुपैयाँ संकलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरूमार्फत उक्त रकम संकलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । शनिबारको खेलबाट मात्र ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट ३ लाख ८ हजार ८ सय रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा ७ लाख १० हजार ९ सय रकम संकलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति २ सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा १ सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर २ सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट २० लाख रुपैयाँसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग संकलन भइरहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.