२०८१ भदौ १० गते १२:५२ विकासन्युज
विराटनगरको कञ्चनबारीमा अवस्थित नोबेल मेडिकल कलेज पूर्वी नेपालको प्रतिष्ठित स्वास्थ्य संस्था हो । बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको यो अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये धेरैजसो बिरामी टाउको र ढाड दुख्ने समस्या लिएर आउँछन् । पूर्वी नेपालमा मात्र होइन अहिले देशभरि टाउको दुख्ने र नसा च्यापिएको समस्या भएर अस्पताल आउने बिरामीको संख्या बढ्दो छ । न्यूरोको समस्या के हो ? यसको उपचार नेपालमै सम्भव छ वा छैन ? यी र यस्तै विषयमा पूर्वी नेपालमा रहेर करिब एक दशकदेखि न्यूरो सर्जनका रूपमा काम गरिरहेका र विद्यार्थीलाई पनि अध्यापन गराउँदै आएका नोबेल मेडिकल कलेजका न्यूरो सर्जरी विभाग प्रमुख तथा सहप्राध्यापक डा. प्रकाश काफ्लेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् ।
पछिल्लो समय न्यूरोसम्बन्धी समस्याका बिरामीहरू बढेको भन्ने सुनिन्छ, न्यूरोसम्बन्धी समस्या के हो ?
न्यूरोसम्बन्धी समस्या भन्नाले मष्तिष्क (ब्रेन)र स्पाइनल कर्ड (ढाड) को समस्या हो । न्यूरो सर्जरीमा ब्रेन र स्पाइन (मेरुदण्ड) पर्दछ । न्युरोसर्जन डाक्टरको ट्रेनिङ सुरु भएदेखि नै यो विषयमा अध्ययन गराइन्छ । त्यो दिनदेखि नै यि विषयमा तालिम लिएर त्यससम्बन्धी समस्याका बारेमातालिम दिन्छ ।
ब्रेन र स्पाइनमा के के रोगहरूको उपचार पर्छ ?
भर्खर जन्मिने बच्चादेखि वयस्क, वृद्धलाई न्युरो सम्बन्धी समस्या हुन सक्छ । बच्चाहरूमा मष्तिष्कमा पनि जम्ने, मासुको डल्ला पलाउने जन्मजात ढाडको पछि मासुको फोका हुनेदेखि लिएर,ब्रेनमा टिभी हुने,इन्फेक्सन हुने, रगतको नसा सम्बन्धी समस्या , छारे रोग , Movements disorders (शरीर काप्ने रोग), र ब्रेनमा ट्युमर हुने हुन्छ भने बयष्क र बृद्धमा ब्रेनको नसा फुलेर फुट्ने रोग प्राय Brain Aneurysm , Arteriovenous Malformation(AVM), ब्रेन ट्युमर र अन्य धेरै रोगहुन्छ भने स्नायुसम्बन्धी रोगको कुरा गर्दा ढाडको नसा च्यापिएका स्पाइनमा स्पाइनको ट्युमर, स्पाइनल इन्जुरी, नसामा ट्युमर पलाएको हुन्छ, ढाडमा पनि नलीहरूको समस्या हुन्छ ।
उमेर बढ्दै गइसकेपछि डिजेनेरेटिभ स्पाइनल हुन्छ, त्यस्ता समस्या पनि हामी हल गछौँ । यसका लागि विभिन्न तरिका छन् । पौराणिक तरिकाबाट खोलेरभन्दा पनि अहिले नयाँ प्रविधिको विकाससँगै दुरविनबाट गरिने अप्रेसन छन् । जुन हामीले अहिले यो सेवा दिरखेका छौँ ।
काठमाडौं बाहिर सायद थोरै संस्था मा मात्र यो प्रविधि उपलब्ध छ । कुनै संस्थामा सामान छ म्यानपावर (जनशक्ति) छैन, कसैमा जनशत्ति छ सामान छैन । हाम्रो अस्पतालमा सामान र जनशत्तिदुवै छ ।
दुरविनबाट ढाडको नसा च्यापिएको समस्यादेखि लिएर , ब्रेनको धेरै खाले रोग जस्तै दिमागमा पानी जमेको, रगत जमेको र ब्रेनकै नसा पनि च्यापिएको ब्रेन ट्युमरको पनि अप्रेसन गरिन्छ ।
अहिले नोबेल अस्पतालमा यस्ता बिरामी कात्तिको आउँछन् ?
हाम्रो अस्पतालको न्युरो सर्जरी ओपीडिमा दिनमा ४०देखि ६० जना जति बिरामी आउँछन् । त्यसको आधा जति बिरामी डाढ दुख्यो, टाउको दुख्यो भनेर आएका हुन्छन् । हामी के कारणले भइरहेको छ भन्ने कारण पत्ता लगाउँछौँ । सबै टाउको दुखेका बिरामीलाई ब्रेन ट्युमर हुँदैन । हामी सामान्य टाउको दुख्नेबित्तिकै गुगलमा सर्च गर्छौँ । त्यहाँ सबैभन्दा पहिले ब्रेन ट्युमर भनेर देखाउँछ । त्यसैले धेरै गुगल गर्नु हुँदैन । किनकि थाह नभएको कुरालाई गुगलले अनावश्यक देखाइदिन्छ र मान्छे झन आत्तिन्छन् । टाउको दुख्ने धेरै कारण कध्ये एउटा मानिसक तनाब, उच्चरक्तचाप देखि आँखा, पिनास, दाँतलगायत सयौं कारणले टाउको दुख्छ । यस्तै, टाउको ब्रेन ट्युमर, ब्रेनको नसा फुटेको या पानी जमेको कारणले पनि दुखेको हुन सक्छ । टाउको दुखाइ भनेको रोगको लक्ष्ण हो कारण होइन । कारण पत्ता लगाउन जाँच गर्न आवश्यक पर्छ ।
ब्रेन ट्यमुरको लक्षण कस्तो हुन्छ ?
यसमा टाउको दुखाइको समय हुन्छ । तपाईंलाई बिहान, राति या दिनभरि टाउको दुख्छ यसलाई विचार गर्नुपर्छ । प्रायः बिहान उठ्दा टाउको दुख्नु अलि खतरनाक हुन सक्छ । त्यसबाहेक अरुबेला पनि एकदमै टाउको दुख्ने, सिटामोल खादा पनि दुखिरहन्छ भने पनि सचेतनाको घण्टी हुन सक्छ । यसको लागि आफै चेक जाँच गर्नुपर्छ । यसका लागि सिटीस्क्यान, एमआरईलगायत अरु जाँच गर्न सकिन्छ । तर, सबैलाई टाउको दुख्नेबित्तिकै एमआरआई, सिटीस्क्यान गराउनै पर्छ भन्ने छैन ।
हामी आफू चढ्ने गाडी, मोटरसाइकललाई त समय समयमा सर्भिसिङ गराउँछौँ भने आफ्नो शरीरलाई कत्तिको जाँच गराइरहेका छौँ त यो पनि सोच्नुपर्छ । नियमित जाँच गर्न एकमदम आवश्यक छ । ब्लड प्रेसर, सुगर, शरीरमा बोसोको मात्र कति छ, म स्वस्थ छु कि छैन, मेरो तौल अनावश्यक रूपमा बढेको छ कि छैन यस्ता कुरामा ध्यान दिनुपर्छ ।
ब्रेनमा समस्या आयो भने शरीरका अन्य भागमा कस्तो असर पर्छ ?
ब्रेन भनेको शरीरका सबै ठाउँ कन्ट्रोल गर्ने ठाउँ हो । हामीले औँला चलाउँछौ हाम्रो ब्रेनमा सिग्नल जान्छ, हात अथवा कुनै ठाउँमा चिमोट्दा दुख्यो भन्ने फिल ब्रेनकै कारण हुन्छ भन्ने हामीलाई थाह हुन्छ । ब्रेनको कुन भागमा समस्या छ त्यही अनुसारको समस्या देखापर्छ । म एउटा उदाहरणका लागि जस्तो आँखाको नसा भनेको ब्रेनको आफ्नै भाग हो । ब्रेनको त्यो भागमा चोट लाग्यो भने तपाईं अन्धो हुन सक्नुहुन्छ । त्यो भाग कतैबाट थिच्चियो भने हामी त्यसलाई ब्रेनमा पिट्युटरी ट्युमर भन्छौँ जुन दिमागको मध्य भागमा हुन्छ, आँखाको जुन नसा छ त्यो नसाको बीचमा हुन्छ त्यसले गर्दा आँखा छेउछाउमा नदेखिने हुन सक्छ । कहिलेकाहीँ दिमागमा पानीको भाग बढ्यो त्यसले गर्दा पनि समस्या हुन्छ ।’
ब्रनेको अगाडिको भागमा केही समस्या आयो भने तपाईं क्याल्कुलेसन गर्न नसक्ने, मानव चेतनशील प्राणीजस्तो हुन नसक्ने, असामान्य रूप देखाउने हुन्छ । दिमागको देब्रेपट्टीको भागमा चोट लाग्यो स्मरणशक्ति हराउने, दिमागको पछाडिको भागमा चोट लाग्दा वस्तु नदेख्ने, देखे पनि ठम्मयाउन नसक्ने हुन्छ । दिमागको पछाडीपट्टी हामी सानो दिमाग पनि भन्छाैं, त्यसमा समस्या आयो भने हिँड्न नसकिने हुन्छ । दाहिने भागले दिमागले देब्रे भागलाईको कन्टोल गर्छ भने देब्रेले दाहिने भागलाई कन्ट्रोल गर्छ । कतिपय बिरामीसँग कुरा गर्दा समस्या दाहिनेतिर हुन्छ । उहाँहरू देब्रेतिर समस्या देखाउनुहुन्छ । त्यसले बुझाउन पनि गाह्राे हुन्छ । कसैको ट्युमर पलायो भने कान नसुन्ने, महिनावारी नियमित नहुनेसममको समस्या हुन्छ ।
यो थाहा पाउने भनेको जाँचबाट मात्र हो ?
हो, जाँच गरिसकेपछि मात्र यो समस्या के हो भन्ने थाहा हुन्छ । त्यसैले तपाईंलाई भइरहेको भन्दा केही फरक समस्या आयो भने चिकित्सकीय सल्लाह लिनैपर्छ । सोही सल्लाहअनुसार जाँच गर्दा के भयो भन्ने थाहा हुन्छ ।
टाउको जस्तै ढाड दुखेको समस्या पनि धेरैलाई भएको सुन्छौं, यो के कारणले हुन्छ ?
यो समस्या धेरै जसो मांशपेशीका कारणले हुने गर्दछ करिब ९० प्रतिशत बिरामीको ढाड दुख्ने मांशपेशीका कारण हुन्छ । १० प्रतिशत कारण नसा च्यापिएर तथा अरु कुनै असमान्य कारणले । कहिलेकाँही महिलाहरूमा पाठेघरको समस्याका कारण पनि ढाड दुख्ने हुन्छ । कसैलाई उमेर ढल्कदै जाँदा हड्डी खिइएर गए समस्या हुन्छ भने बाथरोगका कारण पनि ढाड दुख्छ । नसा च्यापियो भने ढाडको तल्लो भाग दुख्यो भने खुट्टा चलाउन नसकिने, प्यारालाईसिस हुने, पैतला नउठ्ने जस्ता समस्या हुन्छ । यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ कि छैन भनेर एमआरआई गरेपछि थाह हुन्छ । तर, जनमानसमा एउटा भ्रम के छ भने ढाडको अप्रेसन गर्दा प्यारालाइसिस हुन्छ भन्ने भ्रम छ । कस्तो अवस्थामा प्यारालाइसिस हुन्छ भने ढाडको नसाबाटै ट्युमर आएको छ अथवा यसका कारण अस्पताल आउनुभन्दा अगाडि नै प्यारालाइसिस भएको छ भने यो निको नहुन सक्छ । कतिपय प्यारालाइसिस भएर आएकाहरू पनि निको भएर जान्छन् । अप्रेसन गर्नुपर्ने भए पनि औषधि खाएर बस्छौँ भन्नेहरू धेरै हुन्छन् ।
आजभोलि दिनभरि कार्यालयमा बसेर काम गर्दा पनि यो समस्या आउँछ भन्ने सुनिन्छ नि ?
ढाड दुख्नु, नसा च्यापिनु दुई, तीन कारण हुन्छन् । त्यसमध्ये बसेर काम गर्दा पनि हो । किनकि हामी बस्दा कसरी बस्ने भन्ने धेरैलाई थाहा छैन र थाहा भएकाहरू पनि बस्दैनन् । हामी बस्दा ढाड सोझो बनाएर बस्नुपर्छ । त्यसका लागि छुट्टै कुर्सी पनि पाइन्छ । अर्को कुरा चाहिनेभन्दा बढी एक्ससाइज गर्दा पनि समस्या हुन्छ । कतिपय व्यक्ति चाहिने भन्दा बढी व्यायम गर्नुहुन्छ यो राम्रो होइन । हामीले व्यायम गर्दा आफ्नो वेट स्टक्चर हेरेर व्यायम गर्नुपर्छ । जिममा जाँदा पनि ध्यान पुर्याउनुपर्छ ।
यस्ता समस्या हाम्रो खानपान, जीवनशैली वा अहिलेको प्रतिकुल मौसमका कारण पनि हुन्छ कि ?
खानेकुराले पनि अहिले विभिन्न किसिमका समस्याहरू देखा पर्न थालेका छन् । पोलेको खानेकुरा, स्न्याक्स फुड खाँदा ब्रेनमात्र होइन अरु भागमा पनि यसको असर पर्छ । चुरोट, अल्कोहलजस्ता खानेकुराले पनि ब्रेनमा प्रेसर बढाउने, ट्युमर हुने जोखिम हुन्छ । अनावश्यक तौल बढ्छ, तौल बढ्दा सुगर हुने सम्भावना हुन्छ । सुगर हुँदा एउटा समस्या हुनेबित्तिकै अर्को जोखिम बढ्छ । यो सबैको जड भनेको खानपिन हो । ‘स्वस्थ मष्तिष्क, स्वस्थ्य जिन्दगी’ बनाउन खानाले पनि धेरै भूमिका खेल्छ ।
अहिले तपाईं कहाँ आउने बिरामी कुन उमेर समूहका बिरामी आउनुहुन्छ ?
ब्रेन ट्युमरको समस्या जुनसुकै उमेरकालाई पनि हुन सक्छ । तर, ब्रेन ट्युमर प्रायः ३० देखि ४० भन्दा माथिको उमेर समूहमा हुन्छ भने नसा खिइएको, हड्डी च्यापिएकाे ५० वर्षभन्दा माथिकामा देखिन्छ । योभन्दा मुनिको उमेर समूहमा देखिँदैन भन्ने होइन, खासगरी ५० भन्दा माथिकाहरू समस्या ल्याएर आउँछन् ।
अब उपचारको कुरा गरौँ, यी सबै समस्याको उपचार नेपालमा कत्तिको सम्भव छ ?
म ढुक्कका साथ भन्न सक्छु । नेपालमा ब्रेन र स्पाइनसम्बन्धी सबैखाले उपचार गर्न सकिन्छ । त्यो अनुसारको उपकरण र चिकित्सक नेपालमा छन् । यही समस्याका लागि विदेशिनु पर्देन । नेपाली आमाबाकै छोराछोरीबाट उपचार लिन सक्नुहुन्छ । हुन सक्छ कुनै अस्पतालसँग सबै व्यवस्था नहुन पनि सक्छ । तर, हामीलाई हाम्रो बिरामी उपचारमा कुनै औषधी वा उपकरण केही आवश्यक भयो भने विदेशी संस्थासँग पनि सहयोग मागेर उपचार गछौँ । काम गर्दै जाँदा देशभित्र मात्र हाेइन विभिन्न देशका संस्था चिकित्सकहरूसँगको सहकार्य पनि हामी गर्छौं । नेपाल भित्रै न्यूरो सर्जरी नेपालमै सम्भव छ ।
कतिपय अवस्थामा नोबेलमै नसकिने भयो अथवा बाहिर रेफर गर्नुपर्यो भने के गर्नुहुन्छ ?
बिरामीको ज्यानलाई खतरामा राखेर हामीले काम गर्दैनौँ । यदि त्यो उपचार हाम्रोमा सम्भव छैन भने बाहिरबाट टोली बोलाउँछौँ , त्यसबाट पनि सम्भव भएन भने हामीसँग नभएको टेक्नोलोजी अरुसँग छ भने त्यही रिफर गर्छौैँ । हामीकहाँ आएको बिरामी हामीसँग दक्षता छैन अथवा उपकरण छैन भने बिरामीलाई हामी कहाँ राख्दा पनि राख्दैनौँ र यसरी राख्न पनि पाइँदैन ।
यो रोग लाग्यो भने यसको उपचारका लागि कति खर्च लाग्छ ?
न्यूरो जर्सरी भनेको नयाँ नयाँ प्रविधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्छ । यसका लागि केही महँगो पर्न जान्छ । त्यो भनेर उपचार नै गर्न नसकिने भन्ने होइन । तर, अन्य देशमा गरिने उपचार भन्दा नेपालमा धेरै सस्तो पर्छ । कुनै पनि उपचार दिल्ली , सिंगापुरभन्दा नेपालमा धेरै सस्तो छ । तर, हाम्रो देशमा अवस्था अनुसार महँगो देखिन्छ ।
कतिपय बिरामी अस्पतालमा पैसा तिर्न नसकेरै आत्महत्या गर्नुपरेको घटना पनि हामीले देख्दै, सुन्दै आएका छौँ । तपाईंले काम गर्दै जाँदा यस्तो अवस्था कत्तिको देख्नुभयो ?
कुनै पनि बिरामी अस्पतालमा उपचार गर्न आयो तर आर्थिक अभावका कारण उपचार गर्न नपाएर फर्किने अवस्था हामी सकेसम्म हुन दिदैनौँ । यसका लागि सबैभन्दा पहिले बिरामीलाई हामी रोगको बारेमा भन्छौँ । अनि बिरामीको अवस्था हेर्छौँ । बिरामीको आर्थिक अवस्था बुझेर कस्तो खालको उपचार दिनुपर्ने हुन्छ भन्ने कुरा हामीले अध्ययनकै क्रममा बुझेका हुन्छौँ । लास्ट स्टेजमा पुगेको बिरामी छ जसको उपचार गर्दा पनि लामो समय बाँच्ने अवस्था छैन भने यसमा धेरै भार असपतालले उठाउँदैन । तर, त्यही बिरामी पहिलो स्टेजमा छ, उपचार गर्दा लामो समय बाँच्ने छ, आर्थिक अवस्था न्यून छ भने अस्पताल प्रशासनमा कुरा गरेर हामी उपचार गर्छौं । यसरी धेरैजनाको ज्यान पनि जोगाएका छौँ । तर, कतिपय कुरामा आफूसँग छैन भनेजस्तो गर, म पैसा मिनाह गरिदिन्छु भन्ने केही बिचौलिय पनि सक्रिय हुन्छन् । यस्तो अवस्थामा हामी अध्ययन गरेर मात्र उपचार प्रक्रिया थाल्छौँ ।
नेपालमा धेरै जसो बिरामी निको नहुने अवस्थामा अस्पताल आइपुग्छन् । तपाईं कहाँ आउने बिरामी कस्तो अवस्थामा अस्पताल आइपुग्छन् ?
अस्पतालमा आइपुग्ने अधिकांश व्यक्ति अन्तिम अवस्थामा आइपुग्छन् । कतिपय लामो समयदेखि औषधी खाएर बसेको, कतिपय समस्या भएको केही समयमै अस्पताल आइपुग्छन् । सबै स्टेजका बिरामीहरू आउँछन् ।
नोबेल अस्पतालमा सबै उपकरण पर्याप्त छन् हो ?
उपकरणमा हरेक कुराहरू नयाँ थपिदै जाँन्छन् । आइफोनकै कुरा गरौँ ४ देखि अहिले १६ सम्म पुगेको छ । यसमा पनि यस्तै हो । कहिल्यै पर्याप्त भन्ने हुँदैन । दिनहुँ नयाँ नयाँ प्रविधि भित्रिरहन्छन् । प्रविधिमा नयाँ नयाँ कुराको विकास हुँदै जान्छ । जति नयाँ प्रविधि आयो त्यो आवश्यक पर्छ त्यसैले हाम्रो अस्पतालमा अब कुनै पनि प्रविधि आवश्यक छैन भन्ने अवस्था छैन ।
अब मान्छेको काम एआईले गर्न थाल्यो । डाक्टरको काम पनि गर्न थालेपछि एआईले अब डाक्टरको जागिर खान्छ भन्ने कुरा पनि बजारमा सुनिन्छ । के भन्नुहुन्छ ?
यस्तो कहिल्यै हुँदैन । एआई बनाउने भनेको मान्छे हो । यसले धेरैजनाले गर्ने काम उसले सजिलै गरिदिन्छ । अहिले रोबटिक सर्जरी पनि भइरहेका छन् । तर, मान्छेको काम कुनै पनि प्रविधिले गर्न सक्दैन । एआई हाम्रो रिप्लेसमेन्ट होइन, सहयात्री हो । यसलाई हामीले राम्ररी चलाउनुपर्छ । एआई अहिले सबै फिल्डमा आवश्यक छ । यसले डाक्टरलाई सहयोग गर्ने हो तर, जागिर खोस्दैन । किन कि यो मान्छे जस्तो भरपर्दो कुरा होइन ।
अघि सुरुमै दुरविनबाट अप्रेसन गर्ने कुरा गर्नुभएको थियो यो कसरी गरिन्छ ?
मेडिकल भाषामा दुरविन भनेको उउटा सानो इन्डोस्कप लाइट सिस्टम हो । त्यसलाई सानो प्वाल बनाएर मान्छेको दिमागभित्र छिराइन्छ । अथवा ढाडको नसा च्यापिएको छ भने त्यो ठाउँमा छिराइन्छ र त्यसमा सानो चिरा लगाएर औजारलाई भित्र पठाएर त्यो अप्रेसन गर्ने ठाउँलाई ठूलो बनाएर हेर्ने प्रविधि हो । हामीले सुनिरहेका हुन्छौँ, पित्त थैलिको दुरविनले अप्रेसन गरेको हामीले दिमागको अप्रेसन पनि दुरविनबाट सम्भव छ ।
तपाईं उपचार मात्र होइन अध्यापन पनि गराउँदै आउनुभएको छ । दुवै काम एकसाथ कसरी गर्दै आउनुभएको छ ?
उपचार मात्र गर्नका लागि आफूलाई चाहिने चिजमात्र जाने हुन्छ । म एउटा रोगको विशेषज्ञ हो भने मलाई त्यतिमात्र जाने भयो । यति हुँदा राम्रो उपचार गर्न सकिन्छ । तर, विद्यार्थीलाई पढाउँदैछु भने उसको जिज्ञासा धेरै हुन सक्छ । म कक्षाकोठामा जाँदा विद्यार्थीलाई आफूले जानेभन्दा बढी कुरा दिएर जाने गरी तयारी गर्नुपर्छ यो चुनौती हो । तर, मलाई रमाइलो लाग्छ । मैले पढाएका विद्यार्थी अहिले राम्रा डाक्टर बनेका छन्, कोही पीएचडी पढ्दै हुनुहुन्छ, कोही अध्ययन गर्दै हुनुहुन्छ । नोबेल मेडिकल कलेजमा सामान्य टेक्निकल पार्टदेखि स्वास्थ्यसम्बन्धी विशेषज्ञाता सम्म पढाइ हुन्छ । न्यूरोलोजी, न्यूरोसर्जरीको पढाइ हुन्छ । उपचारको साथसाथै देशलाई भोलिका दिनमा चाहिने दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छौँ ।
काम गर्दा मजा चाहिँ पढाउन लाग्छ कि चिरफार गर्न ?
दुईटै काम गर्न मजा आउँछ । मलाई ५१ प्रतिशत अप्रेसन गर्न मन लाग्छ भने ५० प्रतिशत अध्ययापन गर्न मन लाग्छ । मैले जानेका सिपहरू भोलिका पुस्तालाई हस्तान्त्रण गर्नुपर्यो, किनकि अबको केही वर्षपछि म अप्रेसन गर्न सक्दिनँ भनेपछि आफूले सिकेको ज्ञान अरूलाई दिनुपर्यो र देशलाई चाहिने म्यानपावर तयार पार्नुपर्यो ।
एक दिनमा कति अप्रेसन गर्नुपर्छ ?
हामी महिनामा कम्तीमा ७० देखि ८० वटा अप्रेसन गर्छौ । दिनमा दुई-तीन, कहिले पाँचसम्म पनि अप्रेसन गर्नुपर्ने हुन्छ ।
अहिलेसम्म कतिको अप्रेसन गर्नुभयो ?
म चिरफार गर्न लागेको करिब एक दशक भयो । अहिलेसम्म कतिको अप्रेसन गरेँ, उपचार गरे भन्ने जोडेर राखेको छैन । तर, १ वर्षमा पाँच सय भन्दा बढी अप्रेसन गर्छु ।
काम गर्दै जाँदा सबैभन्दा धेरै खुसी कतिखेर हुनुहुन्छ ?
सबैभन्दा ठूलो खुरी र उपलब्धि भनेको बिरामीको ओठमा हाँसो देख्दा आउँछ । अर्धचेत अवस्थामा अस्पताल आएका बिरामी अर्को पटक फ्लोअप गर्न आउँदा हिँडेर आउनुहुन्छ । नसा च्यापिएका बिरामी अस्पताल आउँदा डर, रोग भोग, शोकमा आएका हुन्छन तर अप्रेसनपछि खुसी भएर जानुहुन्छ यो देख्दा आफूलाई पनि खुसी लाग्छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
हाम्रो स्वास्थ्य महत्वपूर्ण हो । यसको बेलाबेला जाँच गरिरहनुपर्छ । सुँगर, प्रेसर कन्ट्रोल गर्नुहोस् । स्मोकिङ, अल्कोहल नपिउनुस् र खानेकुरामा पनि सचेत रहनुस् । चाहिनेभन्दा बढी तनाव नलिनुहोस् । तनाव सबैभन्दा बढी हानिकारक हुन्छ । अर्को कुरा परिवारसँग धेरै समय बिताउनुहोस् । किनकि सपरिवार एकै ठाउँ हुँदा तनाव हुँदैन । यति गर्दा पनि केही समस्या देखिहाल्यो भने अहिले नेपालमा सबै रोगको उपचार सम्भव छ । न्यूरो सर्जरीसम्बन्धी उपचारको लागि विदेशिनुपर्ने अवस्था छैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.