सतप्रतिशत बढ्यो बैंकको गैरबैंकिङ सम्पत्ति, स्ट्याण्डर्ड चार्टर्डको शून्य

  २०८१ भदौ १० गते १४:२४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूमा गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ । बैंकहरूको गैर-बैंकिङ सम्पत्ति सतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म बैंकहरूमा ३० अर्ब १५ करोड ७७ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । जबकी अघिल्लो वर्ष १५ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ९७.१४ प्रतिशत बढेको हो ।

बैंकहरूको खराब कर्जा (एनपीएल) बढेका कारण गैर बैकिङ सम्पत्तिमा वृद्धि हुन पुगेको हो । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राख्छन् । उक्त धितो लिलामीमा बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्न पुग्छ ।

समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो शून्य छ । तर, अघिल्लो वर्ष शून्य रहेको एभरेष्ट बैंकको गत वर्ष भने ५२ करोड २३ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो पुगेको छ ।

गत वर्ष कुनै पनि बैंकले गैर बैंकिङ सम्पत्ति घटाउन सकेका छैनन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको ४ हजार ६९८.८४ प्रतिशत बढेर ३३ करोड ११ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको छ । जबकी अघिल्लो वर्ष बैंकको ६९ लाख रुपैयाँ मात्रै गैर बैंकिङ सम्पत्ति थियो ।

यस्तै, हिमालयन बैंकको ३०९.८९ प्रतिशत बढेर २ अर्ब ४१ करोड रुपैयाँ, कृषि विकास बैंकको २७९.२८ प्रतिशत बढेर ९४ करोड ३० लाख रुपैयाँ, सानिमा बैंकको २५४.४१ प्रतिशत बढेर ६७ करोड ४४ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

यस्तै, सिटिजन्स बैंकको २२० प्रतिशत बढेर ८२ करोड १२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १९० प्रतिशत बढेर ५ अर्ब ४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५८.९३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९७.०५प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति पुगेको छ ।

राष्ट्र बैंकका अनुसार नबिल बैंकको ७८.९० प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकको ७३.८२ प्रतिशत बढेर ७९ करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६० प्रतिशत बढेर ४ अर्ब ३६ करोड रुपैयाँ, कुमारी बैंकको ५६.६० प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५४.४५ प्रतिशत बढेर ३० करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२.५८ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ, एनएमबी बैंकको २१.५७ प्रतिशत बढेर ८५ करोड १४ लाख रुपैयाँ, प्राइम बैंकको १६.६० प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ११.१५ प्रतिशत बढेर ७२ करोड ७५ लाख रुपैयाँ र नेपाल बैंकको ३.८५ प्रतिशत बढेर २० करोड ५७ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको राष्ट्र बैंकले जनाएको छ ।

ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ । अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको हो । गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ । जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन । त्यसलाई नाफाबाट घटाउनुपर्छ । जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ ।

पछिल्लो समय बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नु परेको बताउँछन् । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनको भनाइ छ ।

‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.