२०८१ भदौ १० गते १५:३१ विकासन्युज
काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडीले नाडा अटो शोमा एट्टो थ्री र डल्फिन गाडी राख्ने भएको छ ।
अटो शोलाई लक्षित गर्दै शुक्रबार बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक गरेकाे हाे । यो अपडेटेड भर्सनसँगै डल्फिन पनि नाडा अटो शोमा राखिने कम्पनीका व्यवस्थापकले बताएका छन् । नाडा अटो शोका लागि विशेष अफरको विषयमा भने शोमा मात्रै थाहा दिइने कम्पनीले जनाएको छ ।
नेपालमा बीवाईडी एट्टो थ्री माघ २०७९ मा सार्वजनिक भएको थियो । आजका मितिसम्म यो गाडी नेपालमा २५ सय युनिटभन्दा बढी बिक्री भइसकेको कम्पनीको दाबी छ । सोही गाडीको अपडेटेड भर्सन अर्थात् बीवाईडी एट्टो थ्री २०२४ भर्सन ल्याएको हो ।
कम्पनीका अनुसार यो गाडी एड्भान्स र सुपेरियर गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । बीवाईडी एट्टो थ्री २०२४ को एड्भान्स भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, यसैको सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
पहिले नेपाल आएको एट्टो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने नयाँ भेरियन्टमा १५.१६ इन्चको स्क्रिन छ । यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार ओटा कलर भेरियन्टमा खरिद गर्न सकिने कम्पनीले बताएको छ । यसको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।
त्यस्तै १०० किलोवाट क्षमताको ब्याट्री भएको यस गाडीले उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ । एक पटकको चार्जमा यस भर्सनले ४२० किलोमिटर (डब्लूएलटीसी) रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, नयाँ भर्सनको टेल ब्याज पनि अपडेट गरिएको छ । अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखेको देखिन्छ । यसको इन्टेरियरमा डार्क ब्लु र ब्ल्याकको मिश्रण पाउन सकिन्छ । कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ ।
यस गाडीको एड्भान्स भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा पनि सुपेरियर भर्सन जस्तै १०० किलोवाट क्षमताको मोटर राखिएको छ । यसले पनि उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ । रेन्जको सन्दर्भमा भने यसले एक पटकको चार्जमा ३४५ किलोमिटर रेन्ज दिने जनाइएको छ ।
त्यस्तै, कम्पनीले बीवाईडी डल्फिनलाई यसवर्ष पनि अटो शोमा राख्ने भएको छ । बीवाईडी डल्फिन ब्राजिलमा २०२३ मा सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार बनेको थियो । नाडा अटो शो, २०२३ को पूर्वसन्ध्यामा कम्पनीले बीवाईडी डल्फिन सार्वजनिक गरेको थियो ।
यस गाडीमा ४४.९ किलोवाट ब्याट्री क्षमता र ७० किलोवाट क्षमताको मोटर राखिएको कम्पनीले बताएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
नेपाली सडक सुहाउँदो ईभी भनिएको बीवाईडी डल्फिनमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ । नवीन टेक्नोलोजीसहित सेफ्टी फिचरलाई विशेष ध्यान दिएर उत्पादन गरिएको बीवाईडी डल्फिन ३९ लाख ८० हजार रुपैयाँमा सार्वजनिक गरिएको थियो । हाल यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीको आधिकारिक साइटमा उल्लेख छ ।
गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्डजस्ता सुविधाहरू रहेका छन् । त्यस्तै, १६ इन्चको अलोय ह्विलमा २ हजार ७ सय एमएमको ह्विलबेस रहेको डल्फिन विभिन्न चार कलरमा उपलब्ध छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.