सीईओहरूको रहस्यमय बहिर्गमन, तीनै पक्ष तै चुप मै चुप

  २०८१ भदौ १० गते १७:१३     विकासन्युज

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनै पनि संस्थाको व्यवस्थापन प्रमुख हो । सरकारसँग तुलना गर्ने हो भने सीईओ भनेको प्रधानमन्त्रीजस्तै अधिक कार्यकारी अधिकार भएको पात्र हाे । नीति, नियम र नियामकले पनि बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई व्यापक अधिकार दिएको छ ।

तर, पछिल्लो समय बैंक तथा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन रहस्यमय बन्दै गएको छ । उनीहरूको बहिर्गमनबारे न कम्पनीहरूले प्रष्ट पारेका छन्, न छोड्ने व्यक्तिहरूले मुख नै खोलेका छन् ।

पछिल्लो समय हिमालयन एभेरेष्ट इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको बहिर्गमन यस्तै रहस्यमय बन्याे ।

गत असार १२ गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत शाहलाई पदबाट हटाउने निर्णय लियो । कम्पनीले १३ गतेदेखि नै शाहलाई हाजिर गर्न दिएन ।

शाहले आफूलाई स्पष्टीकरण सोध्ने मौका समेत नदिइ सञ्चालक समितिले पदमुक्त गरेको भन्दै साे निर्णयविरुद्ध बीमा प्राधिकरणमा निवेदन दिए । एक महिनासम्म पदमुक्त सीईओ र सञ्चालक समिति बीमा प्राधिकरणमा आफू सही भएको दाबी गर्दै आफ्नो पक्षमा नियामकीयले हस्तक्षेपका लागि लविङ गरे ।

अन्त्यमा, सञ्चालक समितिले गल्ती स्वीकार गर्‍यो र पदमुक्त सीईओ शाहलाई लाभ र सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्‍यो । त्यसलाई शाहले स्वीकार गरे ।

उच्च स्रोतका अनुसार सञ्चालक समितिले पदमुक्त गरेको सीईओ शाहले डेढ महिनापछि राजीनामा दिए र सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्‍यो । पब्लिक कम्पनीभित्र भएको यी सबै घटना गोप्य राखिएको छ । सञ्चालक समिति र शाहबीच के कस्ता विषयमा सहमति भयो र पदमुक्त गरिसकेका सीईओसँग राजीनामा पत्र लिने र सम्मानजनक बिदाई गर्ने बाटो रोजे भन्ने विषय रहस्यमय नै छ ।

‘दुई पक्षबीच सहमति भएको सुनेका छौं, दुवै पक्ष बीमा प्राधिकरण आउन छोडेका छन्, यो विषय त्यत्तिकै सेलायो’ प्राधिकरणका उच्च अधिकारीले भने, ‘शाहलाई किन हटाइयो भन्ने पनि स्पष्ट छैन, पछि के-केमा सहमति भयो त्यो पनि जानकारी छैन ।’

भदौ ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल समाप्त भएको जानकारी प्राप्त भएको भन्दै कम्पनीको पत्र सार्वजनिक गर्‍यो । पत्रमा फुयाँलको कार्यकाल भदौ ६ गते सकिएको उल्लेख छ । पत्रको भाषाअनुसार ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल सकिएको जनाकारी नेप्सेलाई गराउने निणर्य लिएको देखिन्छ ।

यसअघि साउन २९ मा सीईओमा फुयाँल पुन: नियुक्ति भएको समाचार प्रकाशित भएका थिए । उनलाई पुर्ननियुक्तिका लागि बीमा प्राधिकरणले स्वीकृति पनि दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निणर्यानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निणर्य गरेको थियो । उक्त निणर्य स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते स्वीकृति दिएको थियो ।

पहिला कार्यकाल थप्ने निर्णय भएको र पछि कार्यकाल समाप्त भएको समाचार प्रकाशित भएलगत्तै बीमा प्राधिकरणले कवि फुयाँलसँग टेलिफोनमा सोधखोज गरेको थियो । उक्त सम्वादमा फुयाँलले पदबाट राजीनामा दिएको बताएको प्राधिकरणका उच्च अधिकारीले विकासन्युजलाई बताए ।

‘फुयाँलको दोस्रो कार्यकाल ७ गतेदेखि सुरु हुने हो । फुयाँलले नै दोस्रो कार्यकालको जिम्मेवारी लिन्न भनेको अवस्थामा कम्पनीले पहिलो कार्यकाल समाप्त भएको सूचना नियामकलाई दिनु सामान्य प्रक्रिया हो,’ प्राधिकरणका ती अधिकारीले भने ।

फुयाँल अर्को जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर जान लागेको भन्ने अनौपचारिक सन्देश पनि बजारमा फैलिएको छ । वास्तविकता बुझ्न फुयाँलसँग सम्पर्कको प्रयास सफल भएन ।

यसरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन हुँदा न नियामकले औपचारिक रूपमा बोलेको छ, न कम्पनीहरूले वास्तविकता खुलाएका छन्, न पद गुमाएको प्रमुख कार्यकारी अधिकृतहरूले मुख खेलेका छन् । शंकाले लंका पिर्छ भने झैं तीन पक्ष तै चुप मै चुप हुँदा कर्पोरेट क्षेत्रमा शंका र संशय बढ्दै गएको छ । यस प्रवृतिले पब्लिक कम्पनीको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.