४९ प्रतिशतले घट्यो निर्माण कर्जा, कसरी हुन्छ पुनरुत्थान ?

  २०८१ भदौ १० गते १५:५१     विकासन्युज

काठमाडौं । निर्माण क्षेत्रमा मन्दीको अवस्थामा रहेको विषय ऋण लगानीले पनि प्रष्ट पारेको छ । विगतमा साढे तीन खर्बसम्म ऋण उपभोग गर्दै आएको निर्माण क्षेत्रले गत आर्थिक वर्षमा पौने २ खर्बको मात्रै ऋण लिएको छ । जसले निर्माण क्षेत्र अझैं आर्थिक मन्दीको सामना गरिरहेको बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण क्षेत्रले कुल १ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ लिएको छ । जुन आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४८.३८ प्रतिशत कम हो । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा कुल ३ खर्ब ५४ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।

यस्तै, २०७९/८० मा कुल १ खर्ब ५६ अर्ब ९९ करोड ७० लाख र आर्थिक वर्ष २०७८/७९ मा कुल १ खर्ब ५४ अर्ब ७२ करोड २० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रमा प्रवाह भएको छ ।

विगतका वर्षहरूमा निर्माण क्षेत्रमा तीन खर्ब बढी ऋण प्रवाह हुने भएपनि पछिल्लो वर्षहरूमा भने ऋण घट्दै गएको छ । पछिल्लो दुई वर्षको तुलनामा भने गत आर्थिक वर्षमा केही रकमले ऋण बढेको छ । यसले पछिल्लो केही महिनायता निर्माण क्षेत्र चलायमान भएको होकि भन्ने अनुमान पनि गर्न थालिएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि थला परेको निर्माण क्षेत्र सो समयदेखि माथि उठ्न सकेको छैन । यो बीचमा ब्याजदर, महँगी र तरलता र बक्यौता भुक्तानी नहुने लगायतका समस्या निर्माण व्यवसायीले भोगे ।

लामो समयदेखि बक्यौता भुक्तानीको समस्या भोगिरहेका निर्माण व्यवसायी सरकारलाई भुक्तानी गर्न आग्रह गरिरहेका छन् । पछिल्लो समय सरकारले पनि बक्यौता भुक्तानीको पहल थालेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै साढे ४ अर्ब भुक्तानी भइसकेको जानकारी अर्थमन्त्रालय दिएको छ ।

निर्माण व्यवसायी महासंघका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भएपश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब र चालु आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समयदेखि बाँकी भएको करिब २० अर्ब रुपैयाँ गरी व्यवसायीहरूको करीब ६० अर्ब बक्योता रहेको बताउँदै आएका छन् ।

पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेलले पनि निर्माण व्यवसायीको भुक्तानीका लागि तदारुकता दिएका छन् । उनले निर्माण व्यवसायीसँग बक्यौता भुक्तानी हुने आश्वासन पनि दिँदै आएका छन् । केही रकम भुक्तानी भएपछि निर्माण व्यवसायीमा पनि आशा पलाएको छ । तथ्यांकअनुसार साउनमा घरजग्गा कारोबार पनि केही बढेको छ । यसले अब निर्माण क्षेत्र चलायमान हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.