२०८१ भदौ ११ गते १०:२१ विकासन्युज
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफू भाषण गर्दै हिड्ने कि काम गर्ने भन्ने प्रश्ने गरे ।
‘पछिल्लो समय कार्यक्रममै गएर बितिरहेको छ, तपाईंहरू भन्नुहोस्, म काम गरौं कि भाषण ?’
यस्तै, उनले सरकार स्थिर नीतिमा अगाडि बढिरहेको बताए । अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले उनले अटो क्षेत्रमा मात्रै होइन वर्तमान सरकार सबै क्षेत्रमा स्थिरता खोजिरहेको धारणा राखे ।
‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं,’ उनले भने ।
यस्तै उनले भनेजस्तो नभए पनि सरकारले थुप्रै काम गरेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि काम भइरहेको उनको भनाइ छ ।
‘हामी आयोजना सुरु गर्छौं । तर, समयमै सकिँदैन, लागत बढ्छ, अब सबै काम समयमै सक्ने मोडालिटीम जानुपर्छ, राजस्वमा धेरै योगदान दिएको अटो क्षेत्रलाई सरकारले प्राथमिकतामा नै राखेको छ, तपाईंहरु इमानदार भएर काम गर्नुस्,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.