२०८१ भदौ ११ गते १४:२५ विकासन्युज
काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय संस्था हो ।
मंगलबार काठमाडौंमा संस्थाको साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै आईसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।
साथै, उनले आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिने बताए ।
सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य हो । तटस्थता र स्वतन्त्रता आईसीसीका यस्ता निर्धारक क्षमताहरू हुन् जसले विश्वभरिका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाहरूसित सम्बन्ध विकास गर्न मद्दत गर्दछ ।
आईसीसीले विश्वव्यापीरूपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीहरूलाई दिने सेवा र सुविधा एक मानक रुपमा परिचय बनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.