२०८१ भदौ ११ गते १६:५९ विकासन्युज
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला परेका छन् ।
अन्नपूर्ण–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा एक महिला र एक पुरुष बेपत्ता भएका थिए ।
तीमध्ये इरिक कासानोभास (पुरुष) मृत भेटिएका हुन् । भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोलास जुन्का (महिला) को प्रहरी, पर्यटक प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समूहले खोजी गरिरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङका अनुसार उनीहरूले आइतबार बिहान १० बजेर २१ मिनेटमा घोरेपानी पदयात्रामा जानका लागि नाम दर्ता गराएका थिए ।
घोरेपानी पुग्न उनीहरूले मोटरबाटो छोडेर पुरानो पदयात्रा मार्ग रोजेका हुन् ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न सकेको थिएन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.