२०८१ भदौ ११ गते १७:५८ विकासन्युज
काठमाडौं । के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) अर्थात् विद्युतीय सवारी साधन किन्दै हुनुहुन्छ वा ईभी सवारी किन्ने योजना बनाउँदै हुनुहुन्छ ? र, सस्तो ब्याजदरमा कर्जा लिने बैंकको खोजिमा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । किनभने वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा ईभी कर्जा प्रदान गरिरहेका छन् ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकहरूले ईभी कर्जामा जोड दिन थालेका हुन् । साथै बैंकहरूले ईभी कर्जामा न्यून ब्याजदरमै लोन उपलब्ध गराउन थालेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमै सवारी कर्जा प्रदान गर्ने भएको छ । बैंकले चाडपर्वलाई मध्येनजर गर्दै ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । जुन ब्याजदर बैंकिङ क्षेत्रमा सबैभन्दा कम हो ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्नेछ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । यो योजना भदौ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ दिनभित्र कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।
पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ६.७१ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी कर्जा प्रवाह गर्दा आधार दरमा ५ वर्ष अवधिका लागि १.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि १.४५ प्रतिशत प्रिमियम दर निर्धारण गर्नेछ । अन्य समयमा भने बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा बैंकले ७ वर्ष अवधिसम्म ९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ७.६९ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ ।
नेपाल बैंकले विद्युतीय सवारी कर्जाका लागि आधार दरमा १.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले ७ वर्ष अवधिका लागि १.५ प्रतिशत प्रिमियममा ईभी लोन प्रदान गर्ने भएको हो । बैंकको आधार दर ७.९७ प्रतिशत रहेको छ । साथै ८० प्रतिशतसम्म फाइनान्सको पनि सुविधा रहेको बैंकले जनाएको छ ।
एनएमबी बैंकले विद्युतीय सवारी साधन खरिद गर्नका लागि आधार दर ८.४२ प्रतिशतमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम २.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा दिनेछ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार स्थिर कर्जामा ५ वर्ष अवधिका लागि १०.१० प्रतिशत ब्याजदर तोकेको छ । ग्राहकहरूले सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविस्यतर्फ योगदान दिन सक्ने बैंक्को भनाइ छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।
सिद्धार्थ बैंकको आधार दर ८.११ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन कर्जाका लागि १०.२५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । तर, महिलाले विद्युतीय सवारी साधन खरिद गर्न कर्जा आवेदन दिँदा ९.९९ प्रतिशत मात्रै ब्याजदर तोकेको छ ।
ग्लोबल आइएमई बैंकले नाडा अटो सोलाई मध्येनजर गर्दै विद्युतीय सवारी कर्जा प्रवाह गर्दा ७.९९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य समयमा भने बैंकले ९.४९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रदान गर्नेछ । बैंकका अनुसार ५ वर्ष अवधिका लागि बैंकले ९.४९ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि अवधिका लागि ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । बैंकले सवारी कर्जामा भने १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ । सवारी कर्जाका लागि बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशत प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले न्यूनतम ९.५० प्रतिशतदेखि १२.५० प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले अटो लोनका लागि आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारीलाई ७ वर्ष अवधिको लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै स्थिर कर्जा दिने जनाएको छ ।
माछापुच्छ्रे बैंकले सवारी कर्जाका लागि आधार दर ८.२६ प्रतिशतमा न्यूनतम न्यूनतम ०.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले सवारी खरिदका लागि स्थिर कर्जामा भने ५ वर्ष अवधिका लागि १० प्रतिशत र १० वर्ष अवधिका लागि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
नबिल बैंकले आधार दर ७.६३ प्रतिशतमा १.५ प्रतिशत प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
नेपाल एसबीआई बैंकले हायर पर्चेज कर्जामा ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र १० वर्ष अवधिका लागि १३ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । तर, फ्लटिङ ब्याजदरमा भने बैंकले आधार दरमा ०.२५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । बैंकको आधार दर ८.३० प्रतिशत रहेको छ ।
सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन खरिद गर्न ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा प्रदान गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.