२०८१ भदौ १२ गते ७:२३ विकासन्युज
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।
समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ ।
पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको ४ लाख ४९ हजार ६४५ रुपैयाँ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको २ लाख ६८ हजार ८८५ रुपैयाँ र दाताहरुले गरेको १ लाख ३५ हजार रुपैयाँ विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए ।
‘गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा ३ लाख १७ हजार ९५५ रुपैयाँ खर्च भएको थियो, खर्च कटाएर बेचेको ५ लाख ३४ हजार ५७५ रुपैयाँ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ,’ उनले भने ।
पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ, पाउद्वार माविलाई ७० हजार रुपैयाँ, पाउद्वार आमा समूहलाई ४५ हजार रुपैयाँ, भलिबल खेल कोषमा ३० हजार रुपैयाँ, टोलविकास समितिलाई २९ हजार ५७५ रुपैयाँ, पुख्र्यौली नृत्य समूहलाई ३० हजार रुपैयाँ, खयरभारानी युवाक्बलाई २५ हजार रुपैयाँ, गिबाङ टोललाई २५ हजार रुपैयाँ, पाउद्वार ढल निकासका लागि २५ हजार रुपैयाँ र पाउद्वार स्वास्थ्य इकाइका लागि १० हजार रुपैयाँ सहयोग गरिएको तिलिजाले जानकारी दिए ।
खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको पाठा र साढेको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढे बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.