गुल्मीका चार पालिकामा दुई दिनदेखि विद्युत अवरुद्ध

  २०८१ भदौ १२ गते १२:३६     विकासन्युज

तम्घास । गुल्मीको चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।

विद्युत अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उनले बताए ।

वितरण केन्द्रले मर्मत गरिरहेको छ । अहिलेसम्म उनायचौरको विद्युत स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै ६ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले बताए ।

कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याउन मर्मतको काममा खटिएकाले बुधबार दिनभरिमा विद्युत सञ्चालन गर्ने सम्भावना रहेको पोखरेलले जानकारी दिए ।

गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.