२०८१ भदौ १२ गते १३:१७ विकासन्युज
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ ।
हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् ।
बैठकबीच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.