नेप्से प्राङ्गणमा १२ सय किलोको ‘बुल’ निर्माण हुँदै, फोटो फिचर

  २०८१ भदौ १२ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्राङ्गणमा बुलको संकेत जनाउने साँढेको प्रतिमा तयार हुँदैछ ।

सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको  बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो ।

उक्त बुल ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनका अनुसार बुल ६ सय केजीको बन्नेछ । ‘यसको उचाइ ८ फिट र लम्बाई १२ फिट हो,’ उनी भन्छन्, ‘६ सय केजीको बनाउने भनिएको हो तर काम गर्दै जाँदा दोब्बर अर्थात् १२ सय केजीसम्मको बन्ने जानकारी कालिगढहरूले हामीलाई दिएका छन् ।’

पराजुलीले उक्त प्रतिमा दशैं अगाडि नै निर्माण सक्ने गरी काम भइरहेको बताएका छन् । उक्त बुल धलोट (पहेलो देखिने धातु) बाट निर्माण भइरहेको उनले बताए । उनका अनुसार हाल सो बुल ललितपुरका कालिगढले निर्माण गरिरहेका छन् ।

बुल निर्माण मात्रै छुट्टै ‘प्रोजेक्ट’ नभएको उनी बताउँछन् । बुल निर्माण नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाई हुने बत्तीको काम लगायतका सबै काम एउटै प्रोजेक्ट रहेको उनले बताए । उनका अनुसार सो प्रोजेक्ट १ करोड ४८ लाखमा ठेक्का लागेको हो । बुल निर्माण पनि सोहीअन्तर्गत रहको पराजुलीले जानकारी दिए ।

बुल निर्माण गरिरहेका कालिगढका अनुसार भने ७० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अघिसम्म नै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको कालिगढले पनि बताएका छन् । ‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगढले भने, ‘पूरै साँढेको पिस जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरिन्छ र त्यसपछि फिनिसिङ गरेपछि मात्रै बल्ल काम पूरा हुन्छ ।’

काम अगाडि नै सकिनु पर्ने भए पनि बुल बनाउने काम निकै कठिन भएकाले त्यो काम पूरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.