२०८१ भदौ १३ गते १३:२७ विकासन्युज
काठमाडौं । विराटनगरको एसिएन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको छ । कम्पनीले उत्पादनसँगै कोदोको बिस्कुटको बजारीकरण समेत गरेको जनाएको छ ।
नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको उत्पादन सुरु गरेको कम्पनीको दाबी छ । हालसालै मात्र कोदोको उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक आशिष जाजूले बताए ।
‘उद्योगमा पहिलेदेखिको लगानी थियो । त्यसलाई थप मात्र गरेका हौं,’ उनले भने, ‘यसलाई हामीले भारततर्फ निर्यात गर्ने लक्ष्य पनि लिएका छौं । यसका लागि काम सुरु गरिसकेका छौं ।’ उद्योगले नेपालमै पहाडी क्षेत्रमा उत्पादित कोदो कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जनाइएको छ ।
उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ । जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए ।
‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्,’ उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ ।’
उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए ।
उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए । जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् ।
एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.