नेपालमा ५८ देशको ३ खर्ब लगानी, कुन देशको कति ?

  २०८१ भदौ १४ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ देशको प्रत्यक्ष लगानी ३ खर्ब लगानी रहेको तथ्याङ्क छ ।

राष्ट्र बैंकका अनुसार नेपालमा ५८ देशले कुल २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये भारतबाट सबैभन्दा बढी १ खर्ब ३ अर्ब रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अष्ट्रेलियाबाट १० अर्ब ५ करोड रुपैयाँ, सिङ्गापुरबाट १८ अर्ब ८० करोड रुपैयाँ र वेष्ट इण्डिजबाट १४ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै दक्षिण कोरियाबाट १३ अर्ब ८७ करोड रुपैयाँ, अमेरिकाबाट १२ अर्ब २२ करोड रुपैयाँ, हङकङ्ग चिनबाट ७ अर्ब २३ करोड रुपैयाँ, बेलायतबाट ६ अर्ब ८५ करोड रुपैयाँ, नेदरल्याण्ड्सबाट ५ अर्ब ९३ करोड रुपैयाँ, बङ्गलादेशबाट ४ अर्ब ४९ करोड रुपैयाँ, पाकिस्तानबाट ४ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.