युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रुसको दाबी

  २०८१ भदौ १६ गते १५:१५     विकासन्युज

काठमाडौं । रुसले राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ। सहरनजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र सहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ।

रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुर्स्क, ब्रायन्स्क, भोरोनिस र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले भने, ‘हाम्रा रक्षकहरूले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेका छन्।’

युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रुसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो। युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आक्रमण सुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रुसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आफ्नो अभियान सुरु गरेदेखि नै दुवै पक्षले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएका छन्। मस्को क्षेत्रका एक स्थानीय अधिकारीका अनुसार तीनवटा ड्रोनले कोइलाबाट चल्ने विद्युत् केन्द्र काशीरामा प्रहार गर्ने प्रयास गरेका थिए।

‘आक्रमणबाट कुनै मानवीय वा भौतिक संरचनामा क्षति भएको छैन,’ उनले भने, ‘विद्युत् अझै पनि ग्राहकसम्म सही तरिकाले पुगिरहेको छ।’

रुसी समाचार संस्थाहरूले पनि कपोट्न्यास्थित मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी भएको जानकारी दिएका छन्, तर नगर प्रमुख सर्गेई सोब्यानिनले त्यहाँ कुनै क्षति वा हताहत नभएको बताएका छन्।

बेल्गोरोड क्षेत्रका गभर्नर ब्याचेस्लाव ग्ल्याडकोभले भने, ‘आक्रमणबाट बेल्गोरोडमा तीनवटा आवासीय भवनको सिसामा क्षति पुगेको छ। एउटा निजी आवासमा एउटा युटिलिटी भवन पूरै ध्वस्त भएको छ।’

बुधबार युक्रेनी ड्रोनले दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्र र उत्तरी किरोभ क्षेत्रमा रहेका दुईवटा इन्धन डिपोमा आक्रमण गरेपछि इन्त्रन डिपोमा आगलागी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.