वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

  २०८१ भदौ १६ गते १९:२८     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

श्रमिकका लागि राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासङ्घले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

महासङ्घले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताए ।

ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासङ्घसँगको सहकार्यमा तालिम दिइने बताए । उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट प्रदान गरिने सीप तालिमलाई अन्तर्राष्ट्रियस्तरको बनाइने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.