२०८१ भदौ १७ गते १७:१८ विकासन्युज
काठमाडौं । अटो व्यवसायीहरूकोे कुम्भ मेलाका रूपमा परिचित नाडा अटो शो २०२४ समापन भएको छ । करिब एक सातासम्म चलेको अटो शो आइतबार समापन भयो ।
यस पटकको नाडा अटो शोमा ८० प्रतिशत विद्युतीय गाडी (ईभी)को बाहुल्यता देखियो । ईभीमा पनि चिनियाँ गाडीको दबदवा रह्यो । अटो शोमा हजारभन्दा धेरैले अवलोकन गरेको नाडा अटो शोले जानकारी दिएको छ । ६ दिनको अवधिमा १५ अर्ब रुपैयाँबराबरका सवारी साधनहरू बुकिङ भएको नाडाले जानकारी दिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ६ दिनमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको र करिब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए । उनका अनुसार ३ हजार ६ सय चार पाँग्रे र ६ सय दुई पाँग्रे सवारी साधन बुकिङ भएका छन् ।
आयोजकले यस वर्ष २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको भएपनि १५ अर्ब रुपैयाँबराबर कारोबार भएको हो । उनले नाडामा बुकिङ भएका अधिकांश सवारी साधन विद्युतीय रहेको बताए ।
नाडा अटो शोमा नयाँ सवारी साधन खरिद गर्न चाहनेका लागि बैंकहरुले ८० प्रतिशतसम्म ऋण समेत उपलब्ध गराएका थिए । विभिन्न ७ वटा बैंकको नाडामा स्टल रहेको थियो । बैंकहरूले उपलब्ध गराएको तथ्यांकअनुसार दुई हजार बढी जनाले गाडी खरिदका लागि नाम टिपाएका छन् ।
यो अवधिमा ८२ हजार जनाले नाडा अटो शो अवलोकन गरेका छन् । शनिबार मात्रै साढे १८ हजार जनाले नाडा अटो शो अवलोकन गरेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन त्यसको दोब्बर र तेस्रो दिन १७ हजार मानिसले अटो शोको अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार जनाले अवलोकन गर्न सक्ने अनुमान गरे पनि अवलोकनकर्ताको संख्या अनुमानभन्दा ७ हजारले बढेको हो
नाडा अटो शो हेर्न नेता, राजदूत, कलाकार, पत्रकार, उद्योगी र सर्वसाधारणहरूको भीड थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमेतले नाडा अटो शोको अवलोकन गरेका थिए ।
कुन गाडी कति बुकिङ ?
कम्पनीहरूले सवारीसाधन बुकिङ सम्बन्धमा आ–आफ्नै दाबी गरेका छन् । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको बताएको छ । त्यस्तै, एमएडब्लू वृद्धि अटोकर्पले नामी इभी ७१७ वटा गाडी बुकिङ भएको बताएको छ ।
टाटाको आधिकारिक बिक्रेता सिप्रदीले पन्च ईभी ४७५ र टियागो ईभी १६९ वटा बुकिङ गराएको दाबी गरेको छ । जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२३ युनिट गाडी बुकिङ भएको दाबी गरेको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १५० गाडी बुकिङ भएको बताएको छ ।
नेटा ४०, रिडारा २०, एक्स्पेङ ९, आयोन १६, लिपमोटर सी १० को १७६, काइयी ४०, किङलङ १५ र केवाइसी २५ र स्काइवेलको गाडी १२६ वटा बुकिङ भएको दाबी गरेको छ ।
यस पटकको नाडा अटो शो सफल भएको दाबी नाडाले गरेको छ ।
नाडा अटो शोमा उत्कृष्ट चार पाँग्रे सवारी साधनको स्टल सीजी मोेटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाँग्रेतर्फको स्टल बैैद्य इनर्जी प्रालिको एथेरले जितेको छ ।
लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लूले जितेको छ भने बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.