शिवानी एयरले साढे ५५ करोड रुपैयाँ नतिरेपछि वायुयान बेच्दै क्यान

  २०८१ भदौ १७ गते ८:२२     विकासन्युज

काठमाडौं । आर्थिक संकटका कारण बन्द भएको शिवानी एयरले साढे ५५ करोड रुपैयाँ सरकारलाई भुक्तानी गर्न बाँकी रहेको छ । हवाई तालिम दिने उदेश्यले खुलेको शिवानी एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई ५५ करोड ५० लाख ९४३ रुपैयाँ बक्यौता रहेको छ ।

पटक–पटक ताकेता गर्दा पनि एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरका नाममा रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गर्ने भएको हो ।

‘प्राधिकरणलाई शिवानी एयरले वि.सं. २०६९ असोज ८ गतेसम्मको तिर्नु बुझाउनु पर्ने बाँकी बक्यौता ५५ करोड ५० लाख ९४३ रुपैयाँ र तत्पश्चात पनि शिवानी एयरले भरतपुर नागरिक उड्डयन कार्यालयलाई तिर्नु बुझाउनु पर्ने रकम बुझाएको छैन,’ क्यानले भन्यो ।

शिवानी एयरका अध्यक्ष तथा प्रबन्ध संचालक मणिन्द्रलाल रन्जितकारले वि.सं. २०८० बैशाख ३१ गते बसेको बैठकमा बाँकी वक्यौता रकमको बैंक ग्यारेन्टी ७ दिन भित्र पेश गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । साथै भरतपुर नागरिक उड्डयन कार्यालयमा वि.सं २०८० साउन ८ गते बसेको बैठकमा वक्यौता रकम अर्थ विभागसँग समन्वय गरी बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

उक्त कार्यहरू नगरेको हुँदा अबको २१ दिनभित्र शिवानी एयरले बुझाउनु पर्ने बाँकी वक्यौता रकम बुझाई हिसाब फरफारक गर्न प्राधिकरणले अन्तिमपटक समय दिएको छ । यदि उक्त समयमा भुक्तानी नगरेमा भरतपुर नागरिक उड्डयन कार्यालयको हाता भित्र रहेका शिवानी एयरको नाममा दर्ता कायम रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गरिने जनाएको छ ।

यसरी प्राधिकरणबाट वायुयान तथा अन्य पार्टपुर्जाहरू लिलाम बिक्री गरेकोमा शिवानी एयरले कुनै दावी विरोध गर्न पाउने नपाउने प्राधिकरणको भनाइ छ । साथै वायुयान तथा अन्य पार्टपूर्जाको बिक्री गरेर वक्यौता रकम बाँकी रहेमा सरकारी नियमसरह शिवानी एयरका संचालकबाट असुल उपर गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.