२०८१ भदौ १७ गते १७:१४ विकासन्युज
काठमाडौं । मंगलबारबाट तारा एयरले नियमित उडान गर्ने भएको छ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित डान ताराले पुनः सुरु गर्ने भएको हो । उडान पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो ।
जोमसोमको नियमित उडानका लागि ताराले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै सञ्चालन हुनेछ ।
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।
यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।
यो सिजनका लागि ताराको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी ताराले दिएको छ ।
ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.