त्रिविले खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्दै, माग्यो १९ क्याम्पसका लागि आवेदन

  २०८१ भदौ १८ गते ७:१४     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस प्रमुख खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्याम्पस प्रमुख छनोट समितिले एक सूचना प्रकाशन गरी सोमबार ११ क्याम्पस र मंगलबार ८ क्याम्पस गरी १९ क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम (संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम आवेदन आह्वान गरेको हो ।

क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेदवारहरूले ७ दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भए बमोजिम आवश्यक कागजात पेस गर्नुपर्नेछ ।

त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँके, सानोठिमी क्याम्पस भक्तपुर, ललितकला क्याम्पस भोटाहिटी काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौं र भोजपुर बहुमुखी क्याम्पस भोजपुरको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो ।

साथै कृषि र पशु विज्ञान अध्ययन संस्थानको डीन र योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.